
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी छिन्। ५ जेठ, सोमबार बिहान ८ः५६ मा उनले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डासहित लैंगिक हिंसा विरुद्धको सन्देश बोकेको ब्यानर फहराएकी हुन्।
सगरमाथा आरोहणका क्रममा लैंगिक समानता र हिंसाविरुद्धको अभियानलाई पनि अघि बढाउँदै, शेर्पाले साहसिक कदम चालेकी छिन्। प्रहरी महानिरीक्षक दिपक थापाको निर्देशन र शुभकामनासहित २५ चैतमा झन्डा हस्तान्तरण गर्दै शेर्पा नेतृत्वको आरोहण दल २८ चैतमा काठमाडौंबाट प्रस्थान गरेको थियो।
नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै सगरमाथा चढ्ने उनी दोस्रो प्रहरी सदस्य बनेकी छिन्। यसअघि, प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले २ जेठ २०८० मा पहिलो पटक प्रहरीको तर्फबाट सगरमाथा आरोहण गरेका थिए ।
नेपाल प्रहरीले यसअघि सगरमाथा सरसफाई अभियानदेखि विभिन्न हिमालको सफल आरोहण गर्दै आएको छ। प्रहरीका यी साहसिक र प्रेरणादायी कार्यले भविष्यमा पनि निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ।
ूप्रेरणादायी साहसिक कदमले नारीको नेतृत्वलाई थप बलियो बनाएको छ, प्रहरी प्रवक्ताले भने। कुन्जाङको यो सफलता प्रहरी संगठनको गौरव हो।