देश

तिलगाउँ हिमताल विस्फोटबाट तहसनहस, तिलगाउँका पीडितहरूको तत्काल उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । हिमाली जिल्लाको हुम्ला स्थित लिमीको तिलगाउँमा जेठ १ गते भएको हिमताल विस्फोटले ठूलो जनधनको क्षति पुर्याएको छ। नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले तिलगाउँका पीडितहरूको तत्काल उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लामाले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिमपूर्ण अवस्थामा रहेको चेतावनी दिए। उनले तिलगाउँमा हिमताल फुट्दा काठका पाँचवटा पुल बगाएको, चार(पाँच सय रोपनी खेतीयोग्य जमिनमा लाग्ने सिंचाइकुलो क्षतविक्षत पारेको र १५ किलोवाट क्षमताको विद्युत परियोजना पूर्णरूपमा नष्ट भएको बताए।

ूहिमालपारिको दुर्गम गाउँ तिलगाउँ अहिले त्रासदीपूर्ण अवस्थामा छ,सांसद लामाले भने। उनका अनुसार, विस्फोटपछि १८ घरका ३२ जना स्थानीय बासिन्दा नजिकैको बारीमा त्रिपालको छानोमुनि बस्न बाध्य भएका छन्। २१ महिला, ९ पुरुष र २ बालकसहितको यो समूह अहिले चरम असुरक्षामा रहेको छ।

सांसद लामाले हिमाली क्षेत्रका अरू तालहरू पनि जोखिममा रहेको भन्दै सरकारलाई तत्काल उद्धार, राहत तथा पुनर्निर्माणका कार्यक्रम अघि बढाउन आग्रह गरे। सगरमाथा संवादमा हिमालको चिन्ता गरिरहँदा, हुम्लामा यस्तो विपद् आइपरेको छ, अब समयमै सचेत हुन जरुरी छ, उनले थपे।

तिलगाउँका विस्थापितहरूलाई सुरक्षित स्थानमा सार्ने र बुनियादी आवश्यकता पूरा गर्ने सवालमा छिटो निर्णय गर्न स्थानीयबासीले समेत सरकारसँग आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *