काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको तीव्र मतभेदबीच रामेश्वर चौधरीले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँले उनलाई आइतबार शपथ गराएका हुन्।
यसअघि यसै मन्त्रालयका मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए। त्यसपछि रिक्त पदमा नियुक्तिका लागि नाउपाभित्र नेतृत्वको रस्साकस्सी सुरु भएको थियो।
रामेश्वरलाई संसदीय दलका नेता घनश्याम चौधरीले मन्त्रीका लागि सिफारिस गरेका थिए। तर पार्टी सांसद खुसीराम चौधरीले यो सिफारिस छलफलबिना गरिएको भन्दै विरोध जनाउँदै शपथ रोक्न मुख्यमन्त्री कार्यालय र पार्टी अनुशासन समितिमा पत्र दिएका थिए।
यसै कारण शुक्रबारका लागि तय गरिएको शपथ ग्रहण स्थगित भएको थियो। आइतबार पनि खुसीरामले शपथ नगराउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएका थिए। नाउपाभित्र मन्त्रीको नाम तय गर्न लामो समयसम्म आन्तरिक खिचातानी चलेको थियो। अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिए पनि, दल नेता घनश्याम चौधरीले रेशम चौधरी निकट रामेश्वरलाई अघि सारे।
घनश्याम स्वयं मन्त्री बन्ने चर्चा भए पनि उनी दल नेता र समिति सभापति भएकाले पछि हटेका थिए। अन्ततः घनश्यामको सिफारिसमा रामेश्वर चौधरी मन्त्री बनेका हुन्।
सुदूरपश्चिम प्रदेशसभामा नाउपाका ७ जना सांसद छन्, जसमा एक पक्ष रञ्जिता श्रेष्ठ र अर्को पक्ष रेशम चौधरी निकट मानिन्छ। मन्त्री चयनलाई लिएर पार्टीभित्रको आन्तरिक सत्ता संघर्ष अझै मत्थर भएको छैन।




