देश

हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा लेदो र माटोसहितको ठूलो पहिरो गएपछि गाउँ उच्च जोखिममा परेको छ। रातको समयमा आएको पहिरोले घर, पुल, धर्मशाला, जलविद्युत् आयोजना र सिंचाइ प्रणालीमा व्यापक क्षति पुर्‍याएको छ।

१ जेठ राति ११ बजेपछि आएको पहिरोले ५० घरधुरीमध्ये १८ घरमा बसोबास गरिरहेका ३२ जना स्थानीयलाई खुला चौरमा त्रिपाल टाँगेर सुरक्षित स्थानमा सारिएको छ। विस्थापितमध्ये २१ महिला, ९ पुरुष र २ बालबालिका छन्।

घटनास्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालित छ। बीओपी हिल्सबाट वरिष्ठ हवल्दारको नेतृत्वमा ७ जना र इलाका प्रहरी कार्यालयबाट थप ६ जना गरी १३ जनाको टोली उद्धारमा खटिएको छ।

पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगेका छन्। केही घरमा प्वाल परेको, चर्किएको तथा धर्मशालाको छत भत्किएको विवरण आएको छ। १५ किलोवाट क्षमताको जलविद्युत् आयोजना र ४ सय रोपनी सिचाइको कुलो, खानेपानीको पाइपलाइनसमेत बगाएको छ।

स्थानीय वडाध्यक्ष पाल्जोर लामाले पहिरोको कारण स्पष्ट नभएको बताए। तर, पहिरो आउनु अघि माथिल्लो क्षेत्रमा रहेका दुई हिमताल फुटेको आशंका गरिएको छ। यिनै कारण पत्ता लगाउन अध्यक्षसहित स्थानीय र सुरक्षाकर्मीको टोली ५३०० मिटर उचाइको थाक्रा क्षेत्रसम्म पुगेका छन्। यद्यपि, सो क्षेत्रसम्म उनीहरू दक्ष प्राविधिक वा उपकरणबिनै पुगेका थिए। लिमी क्षेत्रमा हाल कुनै सुरक्षाकर्मीको स्थायी उपस्थिति नरहेको पनि जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *