काठमाडौं । सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई थुनामै राख्ने विशेष अदालतको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको आदेशविरुद्ध तामाङले सर्वोच्चमा पुनरावलोकन माग गरेका थिए। तर, शुक्रबार न्यायाधीश नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले “कानूनबमोजिम गर्नू” भनी आदेश दिँदै विशेष अदालतको अघिल्लो निर्णयलाई निरन्तरता दिएको हो।
तामाङले गत माघ महिनाको तेस्रो साता सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
उनमाथि सिभिल सहकारीका हजारौं बचतकर्ताको रकम हिनामिना गरेको अभियोग लागेको छ। तीसम्बन्धी मुद्दाहरू हाल जिल्ला अदालत काठमाडौंमा विचाराधीन छन्।





