फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ। विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई छान्ने विदेशी पर्यटकहरूको संख्या निरन्तर बढ्दो छ।
हालै मात्र पाँच विदेशी नागरिकसहित १० जनाको टोलीले सफलतापूर्वक कञ्चनजङ्घा हिमालको आरोहण सम्पन्न गरेको छ। उनीहरूले सेभेन समिट ट्रेक्समार्फत यो आरोहण गरेका हुन्। सफल आरोहण गर्नेहरूमा बेलायत, इरान, कोसोभोका नागरिक र नेपाली शेर्पाहरू समावेश थिए। इलाइट एक्सपिडिसन काठमाडौँका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार थप ६३ जना आरोही र पथप्रदर्शकहरू कञ्चनजङ्घा हिमाल आरोहणका लागि हाल त्यही क्षेत्रमा रहेका छन्।
कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ पनि विदेशी पर्यटकहरूको आकर्षण बढ्दो छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को याम्फुदिनस्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राईका अनुसार गत चैतयता मात्रै १६ अमेरिकी, १५ भारतीय, पाँच रुसी नागरिक, चार इजरायली, दुई बेलायती र दुई नेदरल्याण्डका पर्यटक गरी जम्मा ४४ जना विदेशी पर्यटकले दक्षिण आधार शिविरको भ्रमण गरेका छन्। कञ्चनजङ्घा उत्तरी आधार शिविरतर्फ पनि पर्यटकहरूको उपस्थिति उल्लेखनीय रहेको छ। घुन्सा पर्यटन चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार हालसम्म तीन सय ६० विदेशी पर्यटकले उत्तरी आधार शिविरको भ्रमण गरिसकेका छन्।
यसरी कञ्चनजङ्घा क्षेत्र विदेशीहरूका लागि मात्र नभई स्वदेशी पर्यटकहरूको पनि रोजाइमा पर्न थालेको छ। तर स्वदेशी पर्यटकहरूको विस्तृत तथ्याङ्क भने कार्यालयहरूमा सूचीकृत गरिएको छैन। कञ्चनजङ्घा हिमाल समुद्री सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा अवस्थित छ। यो हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यतया दुईवटा आधार शिविरहरू छन् – दक्षिण र उत्तरी आधार शिविर।
उत्तरी आधार शिविर (ओक्ताङ)
उत्तरी मार्गबाट कञ्चनजङ्घा आधार शिविर पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट जापनटारसम्म करिब चार घण्टा सवारी यात्रा गर्नुपर्छ। त्यसपछि जापनटारबाट तीन दिनको ट्रेकिङपछि घुन्सा गाउँ पुगिन्छ। घुन्सा गाउँबाट थप तीन दिन पैदलयात्रा गरेपछि पाँच हजार २०० मिटरको उचाइमा अवस्थित ओक्ताङ पुग्न सकिन्छ, जुन कञ्चनजङ्घा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो। घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटल, होमस्टे, पर्यटक विश्रामस्थल सञ्चालनमा छन्, जसले पर्यटकहरूको बसोबासलाई सहज बनाएको छ।
दक्षिण आधार शिविर (पाङपेमा)
दक्षिणतर्फको मार्ग प्रयोग गर्दा फुङ्लिङ बजारबाट सवारीसाधनमार्फत झण्डै सात घण्टामा याम्फुदिन गाउँ पुग्न सकिन्छ। त्यसपछि तीन दिनको ट्रेकिङ गरेपछि चार हजार ८०० मिटरको उचाइमा रहेको पाङपेमा पुगिन्छ, जुन कञ्चनजङ्घाको दक्षिण क्षेत्रको अन्तिम आधार शिविर हो। यस मार्गमा पनि स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भनाइ छ।
हिमाल आरोहणकर्ताहरूले आधार शिविरमा केही दिन शारीरिक अभ्यस्तता गरी त्यसपछि क्रमशः क्याम्प १, २, ३ हुँदै शिखरतिर यात्रा गर्छन्। आरोहण सफल बनाउन पथप्रदर्शक, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य मानिन्छ। कञ्चनजङ्घा हिमाल प्राविधिक हिसाबले नेपालका अन्य आठ हजार मिटर उचाइ भएका हिमालहरूमध्ये एकदमै कठिन मानिन्छ। बदलिँदो मौसम, पातलो अक्सिजन, हिमपहिरोको जोखिमलगायतले यसलाई चुनौतीपूर्ण बनाउँछन्। त्यसैले यहाँको आरोहण सामान्यभन्दा लामो समय लिने र उच्चस्तरको तयारी आवश्यक पर्ने बताइन्छ। गत सातामात्र हिमाल आरोहणका क्रममा एक फ्रान्सका नागरिकको मृत्युसमेत भएको थियो।
नेपालको पूर्वी क्षेत्रस्थित कञ्चनजङ्घा हिमाल नेपालको गौरव मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि पर्यटन सम्भावनाको धनी क्षेत्र हो। प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले यस क्षेत्रमा अझ पर्यटन आकर्षण बढाउने सम्भावना देखिएको छ। यस क्षेत्रमा सञ्चार र पूर्वाधार थप व्यवस्थित गरिएमा कञ्चनजङ्घा क्षेत्र साहसिक पर्यटन तथा ट्रेकिङ गन्तव्य बन्न सक्छ। ट्रेकिङ मार्गमा नयाँ होमस्टे, बाटोमा सङ्केत चिह्न, प्राथमिक उपचार केन्द्र तथा आपत्कालीन उद्धार सेवा विस्तार भएमा अझ पर्यटक भ्रमण गर्न आउने छन्।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटन विकाससँगै स्थानीय समुदायको सहभागिता उल्लेखनीय छ। होमस्टे सञ्चालन, पथप्रदर्शक, पोर्टर, खच्चड सेवा, हस्तकलाका सामग्री बिक्रीजस्ता माध्यमबाट समुदायले राम्रो आम्दानी गरिरहेका छन्।




