सम-सामयिक

काठमाडौंमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर सम्पन्न

काठमाडौं। भगवती मानव कल्याण संगठनले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरेको अन्तराष्ट्रिय स्तरको राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर काठमाडौंमा सम्पन्न भएको छ।

शिविरमा करिब ३५ सय व्यक्ति नशामुक्त भएका छन्। नशामुक्ति चाहने सहभागीहरूलाई योगिराज शक्तिपुत्रजी महाराजले शक्तिपातको माध्यमबाट नशामुक्त गराउनुभएको थियो।

भविष्यवक्तासमेत रहेका योगिराज श्री शक्तिपुत्रजी महाराजले शिविरमा भविष्यवाणी गर्दै निकट भविष्यमा भयानक विश्वयुद्ध हुने दाबी गर्नुभयो। युद्धका क्रममा धेरै देशको नक्सा बदलिने र कयौँ देशको अस्तित्व नै समाप्त हुने उनको ठहर थियो। नेपालको भविष्यवाणी गर्दै उनले नेपाल सधैँझैँ स्वाधीन र गौरवशाली रहने दाबी गरे।

कार्यक्रममा योगिराज शक्तिपुत्रजी महाराजले नेपाल र भारत विश्वमै सनातनको सन्देश दिने पवित्र भूमि भएकाले ऋषि पथमा अघि बढ्न समाजमा साधक तयार हुनुपर्ने आवश्यकता औँल्याए।

शक्तिचेतना जनजागरण शिविरमा श्री शक्तिपुत्रजी महाराजले सहभागीलाई नशा, मांशाहारमुक्त, चरित्रवान् र चेतनावान् बन्न, पर्यावरण र गौ रक्षा गर्न लगायत ११ संकल्प गराए। गलत कर्म गर्ने व्यक्तिलाई कहिल्यै साथ नदिन र आफू पनि गलत कर्म नगर्न संकल्प गराइएको थियो। नेपाल भ्रष्टाचारका कारण अघि बढ्न नसकेकाले अब भ्रष्टाचार अन्त्यका लागि काम गर्न उनले आग्रह गरे। हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएकाले नेपालको विकासका लागि सहयोग गर्न भारत सरकारलाई समेत उनले आग्रह गरे। नेपाल र भारत सरकार मिलेर संयुक्त रूपमा भ्रष्टाचार उन्मूलनका लागि काम गर्न उनले आह्वान गरे।

यस्तै शक्तिपुत्र महाराजले आत्मिक परिवर्तनका लागि नेपालीहरूलाई छुट्टै कुण्डलिनी शक्तिको विशेष साधनाको कार्यक्रम प्रदान गर्ने बताए। शक्तिसाधना गराउँदै साधनाको रहस्यबारे अनुभूतिको यात्रामा अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे।

शिविरको पहिलो दिन बिहान देश विदेशबाट आएका हजारौँ सहभागीले योग ध्यान साधनाको निःशुल्क लाभ प्राप्त गरेका थिए। कार्यक्रमका सहभागीहरूलाई योगासनका साथै अष्टांग योगका विविध क्रमबारे मार्गदर्शन गराइएको थियो। पहिलो दिनको योग साधना कार्यक्रमलाई सञ्चालन गर्दै शक्ति स्वरुपा दिदी सन्ध्या शुक्लाले योगको बहुआयामिक लाभबारे प्रकाश पारेकी थिइन्। योग अभ्यास नगर्ने मानिसहरूले आफ्नो स्वास्थ्यमाथि आफैँ खेलवाड गरिरहेको भन्दै नियमित समय दिएर रोगअनुरूपका योगासन गर्न उनले सुझाव दिइन्। योग शिविरमा भगवती मानव कल्याण संगठनकी केन्द्रीय अध्यक्ष शक्तिस्वरुपा दिदी पुशा शुक्ला एवं पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम ट्रस्टकी प्रधान न्यासी ज्योति शुक्लाले समेत सहभागीहरूलाई मार्गदर्शन दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *