देश

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

तुलसीपुर (दाङ)। दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल नहुँदा वर्षायाममा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको छ। रोल्पाको रुन्टीगढी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र दाङको विजौरी नै हो। बिरामी हुँदा वा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू पनि यही बाटो प्रयोग गर्छन्। तर, ग्वारखोलामा मोटरेबल पुल नहुँदा वर्षामा हिँडडुल गर्न निकै कठिन हुन्छ भने बर्सेनि मानिसहरूलाई बगाउने खतरा पनि रहन्छ। चालु वर्षमा ग्वारखोलामा पुल निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भए पनि काम सुरु हुन सकेन र उक्त बजेट अन्यत्र गएको स्थानीयले बताएका छन्।

स्थानीय प्रशान्त पुनले भने, “अहिले बजेट आएको थियो, काम त सुरु होला भन्ने आशा थियो, तर त्यो बजेट पनि अन्तै गयो भन्ने सुनिन्छ।”

विसं २०७० मा यो सडकको ट्रयाक खोलिएको भए पनि १२ वर्षसम्म पुल नबनेपछि स्थानीयवासी आफैँले पुल निर्माण थालेका छन्। स्थानीय सबैले श्रमदान गरी मोटरसाइकल चल्ने अस्थायी पुल निर्माण सुरु गरिएको उनले बताए।

“वर्षा आउँदै छ, हिँड्नलाई पुल छैन, आएको बजेटले पनि काम हुँदैन,” पुनले भने, “वर्षामा दुःख बिरामी पर्दा अस्पतालसम्म लैजाने त हुनुपर्‍यो, त्यही भएर स्थानीयले आफैँ श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौँ।”

सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफैँ गर्न लागेको स्थानीय लालबहादुर पुनले बताए। “हामीसँग अहिले पैसा छैन, आर्थिक सहयोग सङ्कलन गरेर काम अगाडि बढाइरहेका छौँ,” उनले भने, “सबैले सहयोग गरे काम सम्भव पनि छ।” स्थानीयले श्रमदान गरे पनि मिस्त्रीलाई ज्याला दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

सरकारले बाटो बनाए पनि पुल नबनाउँदा सास्ती खेप्नुपरेको उनको गुनासो छ। पुल नबन्दा छ महिना सडक सञ्चालन हुने र छ महिना ठप्प हुने अवस्था आएको पुनले बताए। रुकुमको चुनवाङसम्म जोड्ने यो सडकको स्तरोन्नतिका लागि पटकपटक सम्बन्धित निकायमा गए पनि सुनुवाइ नभएको दाङस्थित विजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्काले बताए। यदि खोलामा पुल बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै विजौरी बजारमा लैजान सकिने उनको भनाइ छ। सडक विस्तार भए व्यापारिक हिसाबले पनि फाइदा पुग्ने उनले बताए र पुल निर्माणका लागि पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

विजौरीबाट होलरीसम्म २९ किलोमिटर सडक छ। त्यसमध्ये होलेरी क्षेत्रमा पाँच किलोमिटर र विजौरी क्षेत्रमा नौ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका–८ का वडाध्यक्ष तुलसी पुनमगरले बताए। “बीचमा बाटो स्तरवृद्धि छैन, ग्वारखोलामा पनि पुल छैन,” उनले भने, “त्यसले गर्दा आवतजावतमा निकै कठिनाइ हुने गरेको छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *