चितवन। चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँको तस्बिर आउँछ, तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तराईको उखरमाउलो गर्मी छल्न यस्ता ठाउँ पुग्नेहरूको सङ्ख्या अचेल बढ्दै गएको छ। यहाँको इच्छाकामना गाउँपालिकाले यस्ता शीतल पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गरिरहेको छ।
जिल्लाका पहाडी भूभाग गर्मी मौसममा पनि शीतल हुने गर्छन्। भरतपुरको चौकीडाँडा, कालिका र राप्ती नगरपालिकाको पहाडी भूभागसँगै इच्छाकामनाको अधिकांश भूभागमा शीतल हुने गरेको छ। तीमध्ये धेरैको रोजाइ यही पालिकाका पर्यटकीय गन्तव्यहरू पर्ने गरेका छन्। गाउँपालिकाले यहाँ हरेक वर्ष करिब तीन लाखसम्म पर्यटक घुम्न र बस्न आउने अनुमान गरेको छ।
प्रमुख पर्यटकीय आकर्षणहरू
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार, नारायणगढ–मुग्लिन सडक नजिकैको लामो झरनामा गर्मी मौसममा धेरै आन्तरिक पर्यटक आउने गर्छन्। वडा नं ६ मा पर्ने यस झरनामा वार्षिक करिब ६० हजार पर्यटक घुम्न आउने गरेको र यसबाट वार्षिक रु २५ लाखसम्म राजस्व सङ्कलन हुने गरेको उनले बताए।
जिल्लाको पुरानो सदरमुकाम उपरदाङ्गगढी सोही गाउँपालिका–७ मा पर्छ। यसको पुनर्निर्माणका काम भइरहेको अध्यक्ष गुरुङले बताए। गढीमा जीर्ण अवस्थामा रहेको कोतघर पुरानै शैलीमा पुनर्निर्माण भइरहेको छ, जहाँ पुराना हातहतियार र वेशभूषा राख्ने मुख्य उद्देश्य रहेको छ। गढी वरिपरि रहेका घरबास (होमस्टे) गर्मीयाममा पर्यटकले रुचाउने गन्तव्य हुन् र बिदाको समयमा यहाँ ठाउँ पाउन मुस्किल हुने गरेको छ। उपरदाङ्गगढी क्षेत्रमा वार्षिक ३५ हजार बढीले अवलोकन गर्ने र करिब रु १५ लाख राजस्व सङ्कलन हुने गरेको छ।
जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली वडा नं १ मा रहेको छ। यसको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाले सिँढीसहितको बाटो बनाउने र सरसफाइ गर्ने काम गरिराखेको छ। यहाँ रेलिङ, फलामे बेन्च, हेर्ने ठाउँ बनाइएका छन्। नजिकैको काली र सिद्धबाबा मन्दिरको संरक्षण गर्ने काम भएको छ। यहाँबाट चितवनसहित छिमेकी जिल्लाका धेरैजसो हिमाल, समथर भूभाग देखिने र चिसो हावा चलिरहने भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ। यहाँ वार्षिक करिब १० हजार पर्यटक आउने गरेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए।
इच्छाकामना–२ मा पर्ने अर्को पर्यटकीय गन्तव्य हो, मायाँटार। यहाँ भरतपुरबाट धेरै पर्यटकहरू रात बिताउन पुग्छन्। स्थानीय जातका कुखुरा, खसी र स्थानीय परिकारका सौखिनहरूका लागि यो ठाउँ लोकप्रिय छ। यसको नजिकै देवीदेवताका थान छन्, जस्तै बालगौरी थानमा पूजा गरेमा निःसन्तानले सन्तान प्राप्त गर्छन् भन्ने विश्वास छ। गाउँपालिकाको चिसापानीगढीको जङ्गलमा पैदलयात्रा गर्न रुचाउनेहरू पनि आउने गरेको अध्यक्ष गुरुङले बताए। चिसापानीबाट उपरदाङ्गगढी हुँदै सिराइचुलीसम्म जाने पैदलमार्ग पनि बनेको छ।
पालिकाको इच्छाकामना मन्दिर वडा नं २, ३, ४ र ५ को सङ्गमस्थलमा पर्छ। यहाँ धेरैजसो भारतीय पर्यटकहरू आउने गरेका छन्। अध्यक्ष गुरुङले भने, “काठमाडौँ, भक्तपुर, ललितपुरबाट धेरै आउने गरेका छन्। वार्षिक ५० हजारभन्दा बढी पर्यटक मन्दिर दर्शनका लागि आउने गरेका छन्।” मन्दिरका पुजारीलाई तलब दिएर राखिएको छ र त्यहाँबाट उठेको भेटी गाउँपालिकाको राजस्वमा जम्मा हुने व्यवस्था गरिएको छ।
होमस्टे र पर्यटन प्रवर्द्धनका प्रयासहरू
गाउँपालिकाका उपाध्यक्ष माया सिलवालका अनुसार, गाउँपालिकाको राजमार्ग क्षेत्रमा ठूला होटल भए पनि पर्यटकले ग्रामीण क्षेत्रका साना होटल र होमस्टेमा बस्न रुचाउँछन्। हात्तीवाङको चेपाङ होमस्टे, मायाँटार, उपरदाङ्गगढीमा गुरुङ होमस्टेहरू र मायाँटार जलबिरेमा अन्य होमस्टेहरू छन्। सुन्तला फल्ने समयमा बोटबाटै सुन्तला खानसमेत यहाँ पर्यटक आउने गरेका छन्। हाल गाउँपालिका क्षेत्रमा करिब १०० होमस्टे रहेका छन् र होमस्टेका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर बस्नेत पर्यापर्यटनको हिसाबले इच्छाकामना महत्वपूर्ण रहेको बताउँछन्। गर्मी क्षेत्र नजिकको शीतल गन्तव्य भएकाले पालिका उच्च प्राथमिकता दिएर त्यस्ता स्थानको प्रवर्द्धन र प्रचारप्रसारमा लागेको उनले बताए। “यसै पालिकामा मनकामना केबुलकारको स्टेसन छ। त्यहाँबाट वार्षिक १० लाखभन्दा बढी पर्यटक मनकामना मन्दिर पुग्ने गरेका छन्। उचित प्रचारप्रसार हुन सकेमा इच्छाकामनाका पर्यटकीय गन्तव्यमा आन्तरिक र बाह्य पर्यटक बढाउन सकिन्छ,” बस्नेत भन्छन्।
गाउँपालिकाले लगानी सम्मेलन गरेर ठूला लगानीकर्तालाई पनि पर्यटकीय गन्तव्यमा होटल खोल्न प्रोत्साहित गर्ने तयारी गरेको जनाइएको छ।



