काठमाडौं । भरतपुर महानगरपालिका–२५ स्थित दिव्यनगरमा भएको हृदयविदारक घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। पूर्व सैनिक लीलाराज गिरीले आफ्नै ७ वर्षीया छोरी प्रभा गिरी र ५ वर्षीय भतिजा साजन गिरीको खुर्पा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका छन्।
शुक्रबार बिहान करिब ९ः ५५ बजे उनले दाइको छोरा साजनलाई पहिले निशाना बनाए, त्यसपछि आफ्नै छोरीमाथि खुर्पा प्रहार गरे। साजनको घटनास्थलमै मृत्यु भयो भने प्रभाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गयो।
मानसिक असन्तुलन, पूर्व चेतावनी थिएन?
घटनापछि लीलाराजले आफूलाई पनि घाइते बनाएका छन्। प्रहरीका अनुसार उनी पूर्व सैनिक हुन् र मानसिक रूपमा अस्थिर थिए। तर, यस्तो अवस्था हुँदा पनि उनको अवस्थाबारे कुनै प्रकारको सुरक्षात्मक सतर्कता नअपनाइनुले यस अपराधलाई रोक्न सक्ने सम्भावनालाई गुमाएको देखिन्छ।
यो केवल दुई नाबालकको हत्या नभई समाज र राज्य दुवैको लापरवाहीको तीतो परिणाम हो। मानसिक स्वास्थ्यप्रति हाम्रो संवेदनशीलता, पारिवारिक निगरानी र समुदायगत सहकार्यमा खोट छ भन्ने कुरा यस घटनाले उजागर गरेको छ।



