काठमाडौँ। सरकारले जलवायु परिवर्तनसम्बन्धी द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) स्वीकृत गरेको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार बिटिआर स्वीकृत गरेका हुन्।
वन तथा वातावरण मन्त्रालयका अनुसार आजदेखि यहाँ सुरु हुने सगरमाथा संवादमा यो बिटिआर घोषणा गरिनेछ। मन्त्री शाहीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले बिटिआर स्वीकृत गरिएको जानकारी दिए। बिटिआर जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता अन्तर्गतका राष्ट्रहरूले प्रत्येक दुई वर्षमा तयार गर्ने दस्तावेज हो। यस दस्तावेजमा ती मुलुकहरूको हरितगृह ग्यास उत्सर्जन, अनुकूलनका उपायहरू, वित्तीय सहयोग, प्रविधि हस्तान्तरण, क्षमता विकास र पारदर्शिता सम्बन्धी जानकारी समावेश गरिन्छ।
यसैगरी, सरकारले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) को मस्यौदा पनि स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (युएनएफसिसिसी) का पक्ष मुलुकहरूको २१औँ शिखर सम्मेलनमा आधारित तेस्रो एनडिसीको मस्यौदा गत बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।
मन्त्री शाहीले तेस्रो एनडिसी र बिटिआर सगरमाथा संवादअघि स्वीकृत गर्ने योजना भए पनि कार्बन व्यापारसम्बन्धी नियमावलीमा सरोकारवालाहरूको प्रतिक्रिया सङ्कलन जारी रहेकाले संवादअघि स्वीकृत हुन नसकेको बताए।
जलवायु अभियन्ता राजन थापाले सगरमाथा संवादअघि बिटिआरको स्वीकृतिले सकारात्मक सन्देश दिने र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सहयोग अभिवृद्धि हुनुका साथै पर्वतीय राष्ट्रहरूबीच सहकार्यको ढोका खुल्ने बताए।



