काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले नै तालिम दिएका उद्यमीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरण र वितरणलाई आपसमा अन्तरसम्बन्धित बनाउन निर्देशन दिएकी छन्।
उपप्रमुख डङ्गोलले सामाजिक विकास विभागलाई महानगरपालिकाले तालिम दिएका उद्यमीहरूले उत्पादन गरेको सेनिटरी प्याडको गुणस्तर प्रयोगशालाबाट परीक्षण गरी विद्यालयहरूमा वितरण गर्न निर्देशन दिएकी हुन्।
उनले यसरी गुणस्तर प्रमाणित भएका प्याडहरू प्रचलित खरिद कानुनबमोजिम सामुदायिक विद्यालयका छात्राहरूलाई वितरण गर्न शिक्षा विभागसँग समन्वय गर्न पनि सामाजिक विकास विभागलाई निर्देशन दिइन्। यसबाट स्थानीय उद्यमीहरूका उत्पादनको प्रवर्द्धन हुने उनको भनाइ थियो।
सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिको व्यवस्थालाई उद्धृत गर्दै उपप्रमुख डङ्गोलले स्थानीय स्रोत, ज्ञान, सीप र उद्यमशीलताको प्रवर्द्धन हुने गरी स्थानीय स्तरमै सेनिटरी प्याडको उत्पादन, उपयोग र वितरण गर्न सकिने व्यवस्था रहेको बताइन्।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ९४६ जना छात्रालाई सेनिटरी प्याड वितरण गरेको थियो। एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली र विद्यालयहरूबाट प्राप्त भएको निवेदनका आधारमा ८६ वटा विद्यालयलाई प्याड खरिदका लागि रकम पठाइएको थियो।
विभागले सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका, २०७६ को नियम २० (६) मा स्थानीय तहले निर्णय गरेर विद्यालयमा रकम पठाउन सक्ने व्यवस्था रहेको जानकारी दिएको छ। यसरी पठाइएको रकम एक करोड ४३ लाख ६१ हजार १२० रुपैयाँ रहेको छ।
स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री रूपमा नष्ट गर्न सकिने प्याड वितरण सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ। यो शिक्षा क्षेत्रको कार्यक्रम भएको र यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका’ जारी गरेको छ। निर्देशिका अनुसार उपप्रमुखको संयोजकत्वमा समिति गठन हुने र जसमा एक जना कार्यपालिका सदस्य र प्रधानाध्यापकमध्येबाट दुई जना सदस्य रहने व्यवस्था छ।
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरूमा २०७६ सालदेखि सेनिटरी प्याड वितरण कार्य सुरु भएको हो। शिक्षा विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार विद्यालयहरूले प्याड वितरणसम्बन्धी नाम विवरण उपलब्ध गराउनुपर्छ। कतिपय विद्यालयले विवरण पठाइसकेका छन् भने केहीबाट आउन बाँकी छ। छात्राहरूलाई विद्यालयका सम्पर्क व्यक्तिले एउटा महिनावारी चक्रका लागि बढीमा १६ वटासम्म प्याड उपलब्ध गराउने गरिएको छ। प्याड वितरण कार्यले उक्त उमेर समूहका किशोरीहरूलाई सहज भएको महानगरपालिकाको ठहर छ।



