
इनरूवा (सुनसरी)। इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का मदिना जानका लागि सुनसरीबाट १८० जना हजयात्री तयार भएका छन्।
सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीका अनुसार हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भएको छ र यात्रीहरू यही जेठ ३ गते शनिबारदेखि पवित्र भूमि मक्का मदिनातर्फ प्रस्थान गर्नेछन्। हजयात्रीहरू विभिन्न पाँच चरणमा साउदी अरेबिया जाने कार्यक्रम रहेको उनले जानकारी दिए।
अन्सारीले बताएअनुसार सुनसरीबाट पहिलो चरणमा आइतबार बिहान ११८ जना हजयात्री, एक जना दूतावासका प्रतिनिधि र एक जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौँबाट साउदी अरेबिया प्रस्थान गर्नेछन्। सोही दिन राति सुनसरीका थप चार जना अन्य जिल्लाका हजयात्रीको टोलीमा सहभागी भएर जानेछन्। बाँकी हजयात्रीहरू पनि विभिन्न मितिमा प्रस्थान गर्ने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार गत वर्ष आवेदन दिएर जान नपाएका र चालु आर्थिक वर्षमा आवेदन दिएकामध्ये १८० जना यस वर्षको हजयात्राका लागि छनोट भएका छन्। हज व्यवस्थापन समितिले यात्रीहरूको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया, आवास तथा यातायातको व्यवस्थापन सम्पन्न गरिसकेको जनाएको छ।