विश्व

रूसी प्रतिनिधिमण्डल युक्रेनबारे वार्ताका लागि इस्तानबुलमा

युक्रेनसँग तीन वर्षभन्दा बढी समयसम्म युद्धपछि पहिलो प्रत्यक्ष शान्ति वार्ताका लागि रुसी प्रतिनिधिमण्डल बिहीबार इस्तानबुल आइपुगेको छ । रूसको तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी हुनुभएको छैन ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनलाई वार्तामा व्यक्तिगत रूपमा उपस्थित हुन चुनौती दिएपनि क्रेमलिनले बुधबार अबेर प्रकाशित गरेको मस्कोको वार्ता टोलीको सूचीमा पुटिनलाई समावेश गरिएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै अर्थपूर्ण प्रगति भएमा टर्कीको यात्रा गर्ने सम्भावनालाई खुला राखेको बताउनुभएको छ ।

पुटिनका साथै विदेशमन्त्री सेर्गेइ लाभरोभ वा विदेश नीतिका सहयोगी युरी उशाकोभजस्ता कुनै पनि उच्च कूटनीतिज्ञको अनुपस्थितिले वार्ताको महत्व वा सफलताको सम्भावना कम गर्ने देखिन्छ ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण गरेयता दशौँ हजार मानिसको ज्यान गइसकेको छ ।

अहिले रुसले युक्रेनको भूभागको पाँच भागको एक भाग ओगटेको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले मस्कोको टोली गम्भीर कामका लागि तयार रहेको बताउनुभयो ।

युक्रेनका एक अधिकारीले एएफपीलाई बताएअनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई भेट्नुहुनेछ र त्यसपछि मात्र वार्ताका लागि आफ्नो दृष्टिकोण तय गर्नुहुनेछ ।

“राष्ट्रपतिले एर्दोगानसँग अङ्कारामा आफ्नो भ्रमण सुरु गर्नुहुनेछ र त्यसपछि मात्र राष्ट्रपतिले अर्को कदमबारे निर्णय गर्नुहुनेछ,” स्रोतले बताएको छ ।

वार्ता भइरहेको हल्ला चलेको इस्तानबुलको डोल्माबाचे प्यालेसमा सयौँ पत्रकार भेला भएका छन्।

ट्रम्पले तीन वर्षदेखि जारी युद्धको शीघ्र अन्त्यका लागि जोड दिँदै आउनुभएको छ तर प्रगति हुन नसकेपछि दुवै पक्षलाई प्रत्यक्ष वार्ता गर्न प्रोत्साहित गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले कतारमा भन्नुभयो, “यदि वार्ता सोचे अनुरूप अघि बढेमा म शुक्रबार टर्कीए जान्छु ।”

नेटोको बैठकमा बोल्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टन प्रगतिका लागि ‘आतुर’ रहेको र युद्धको स्थायी अन्त्यका लागि ‘कुनै पनि संयन्त्र’ माथि विचार गर्न इच्छुक रहेको बताउनुभएको थियो।

युक्रेनमा जारी द्वन्द्व र पारस्परिक चासोका अन्य क्षेत्रीय विषयमा छलफल गर्न रुबियो शुक्रबार इस्तानबुलमा हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
किएभ र युरोपेली नेताहरूले ३० दिनको पूर्ण र निःशर्त युद्धविरामका लागि सहमत हुन दबाब दिएपछि पुटिनले आश्चर्यजनक रूपमा वार्ताका लागि आह्वान गर्नुभएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *