काठमाडौँ। सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको निधन भएको छ।
पर्यटन विभागका अनुसार, स्यान्टिएगोको मृत्यु गएराति सगरमाथाको चौथो शिविरमा आराम गरिरहेको अवस्थामा भएको हो। उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फिलिप चौथो शिविरमा करिब रातको ७/८ बजे थकित अवस्थामा पुग्नुभएको र आराम गरेका अवस्थामा आज बिहान आरोहणदलका सदस्यबाट मृत्यु भएको जानकारी प्राप्त भयो।” मृतकको शव आवश्यक प्रक्रिया पुर्याएर आधार शिविर ल्याउने तयारी भइरहेको जनाइएको छ।



