देश

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा

भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिका–४ दलगाउँस्थित दितेनीमा रहेको चुलाचुली गुफा संरक्षण तथा विकासको प्रयास भइरहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। भौगोलिक विकटताका कारण यो अनौठो र मनमोहक स्थल देश विदेशमा परिचित बन्न सकेको छैन।

स्थानीयबासी अनिल राईका अनुसार, यहाँका ढुङ्गामा विभिन्न देवीदेवताका आकृति प्राकृतिक रूपमा कुँदिएका छन्, जुन हेर्दा आश्चर्यजनक लाग्छ। “सायदै नेपालमा यस्ता ठाउँ कमै होलान्,” उनले भने, “यहाँका ढुङ्गामा मादलको जस्तो आवाज आउँछ र यहाँ दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास पनि छ। तर यो स्थान ओझेलमा परेको छ।”

करिब दुई रोपनी क्षेत्रमा फैलिएको यस डाँडामा रहेका ढुङ्गाहरू खोलाका बगरझैँ कुँदिएका छन्। गुफाभित्र शिव तथा विभिन्न देवीदेवताको मूर्तीका साथै हात्तीको सुँड, गाईको थुन, नागको चित्रलगायतका आकृतिहरू देख्न सकिन्छ। स्थानीयबासी विनोद राईका अनुसार, रामनवमी, नयाँ वर्षलगायतका अवसरमा यहाँ मेला लाग्ने गर्छ।

“यो गुफा हेर्दा नै अनौठो खालको छ,” राईले भने, “स्थानीय सरकारले संरक्षणको काम गरिरहेको छ। २०७२ सालको भूकम्पका कारण गुफामा पस्ने बाटो केही ठाउँमा टालिएको छ। भित्र पस्नका लागि बत्ती जडान गर्नुपर्ने आवश्यकता छ। यो ठाउँलाई सानो हलेसीको रूपमा पनि लिने गरिन्छ।”

वडाध्यक्ष बाबुकुमार राईले आफ्नो वडाको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल भएकाले यसको संरक्षणमा वडा जुटेको बताए। यहाँ मन्दिर निर्माण, घेराबारा, शौचालय तथा विश्राम स्थल निर्माणको काम भइसकेको छ। उनले विशेष गरी प्रचारप्रसारको अभावमा यो स्थान ओझेलमा परेको स्वीकार गरे।

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार, नेपाल जलवायु अनुकुलन नमूना कार्यक्रम अन्तर्गत यहाँ संरक्षण तथा विभिन्न संरचना निर्माणको काम भइरहेको छ। यो वर्ष सो कार्यक्रमबाट रु १० लाख लागतमा संरक्षणको काम भइरहेको उनले बताए। यस क्षेत्रको बृहत्तर विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक काम भइरहेको अध्यक्ष राईले जानकारी दिए। “यहाँको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर नै विकासका काम गर्दै आएका छौँ। यो ठाउँलाई गाउँपालिकाको आर्थिक स्रोतको रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ,” उनले भने, “यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको छ।” गाउँपालिकाले गुरुयोजना बनाएर नै गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेको अध्यक्ष राईले थप जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *