कोशी प्रदेश

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ। मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले पूर्वी तराईदेखि सगरमाथासम्म पैदल यात्रा गर्न सकिने ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ।

पर्यटन केन्द्रले तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रूपमा पदयात्रा गर्न सकिने छोटो पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्य राखेको छ।

केन्द्रका अध्यक्ष रमेशकुमार राईका अनुसार ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा विभाजन गरिएको छ। चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल र सोलुखुम्बुको छेस्कामदेखि सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने लक्ष्य छ।

“ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा विभाजन गरिएको छ। यो पदमार्गले तराई, पहाड र हिमाललाई समेट्छ,” अध्यक्ष राईले भने, “ग्रेटर मुन्दुम ट्रेललाई विश्वका पर्यटकको ध्यान केन्द्रित गर्नेगरी नेपालकै पहिलो पर्यटकीय पदमार्ग बनाउने लक्ष्य छ।”

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको समन्वयमा पर्यटन प्रवद्र्धन केन्द्रले गरेको अन्वेषणका क्रममा पदमार्ग निर्धारण, यात्रुहरूका लागि बास बस्ने ठाउँ र ट्रेलका विशेषताहरूको पहिचान गरिएको छ।

ग्रेटर मुन्दुम ट्रेलमा पदयात्रा गर्दा प्राकृतिक र भौगोलिक रूपमा तराईको समथर भूभागको तातो हावादेखि पहाडको चुचुरोको चिसो तुसारोसम्मको अनुभव गर्न सकिनेछ। यसैगरी, कोशीटापुका अर्ना तथा वन्यजन्तुदेखि पहाडका घाँसे मैदानका चौरी र भेडा तथा हिमाली क्षेत्रका वन्यजन्तुहरूसमेत देख्न सकिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *