
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय यथार्थ झल्किन नसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद केसीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सिद्धान्त र प्राथमिकताकमा समेटिएको नदेखिएको बताए । विनियोजन विधेयकमार्फत सरकारले सबैलाई खुशी बनाउने प्रयास गरेको तर कोही पनि खुशी नदेखिएको सांसद केसीको भनाइ छ । उनले मुलुकको अर्थतन्त्र लगातार शिथिल बन्दै गएको भन्दै सरकार गम्भिर हुन जरुरी रहेको उल्लेख गरे ।
उनले यस्तो परिस्थितिमा बजेट तर्जुमा प्रक्रिया चुनौतिपूर्ण र अपजसपूर्ण हुने उल्लेख गर्दै ऋण र कुल गार्हस्थ्य उत्पादनबीच सन्तुलन कायम गर्न नसकिएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘जब मान्छेले सबैलाई खुसि बनाउन खोज्छ कोही पनि खुशी हुँदैनन् भनेजस्तो प्राथमिकता के हो भन्नेतिर केन्द्रित हुनुपर्छ । अहिले जुन खालको आर्थिक संकटापन्न, अहिलेको चुनौती र राष्ट्रिय यथार्थलाई चाहीँ मन्त्रीज्युले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा समावेश गर्नुभएको छैन । हामी अहिले अत्यन्त अप्ठ्यारो स्थितिमा छौं । हामीले जति राम्रो कुरा गरेपनि राष्ट्रको अर्थतन्त्रको स्थिति झन झन शिथिल हुँदै गएको अवस्था छ । र यो जटिल परिस्थितिमा बजेट तर्जुमा गर्नुपर्दा जो अर्थमन्त्री हुँदापनि चुनौतिपूर्ण हो र अपजसपूर्ण छ भन्नेमा कुनै विवाद छैन । मुलुकको कुल ग्राहस्थ उत्पादन र ऋणबीच समेत सन्तुलन कायम गर्न सकेका छैनौं ।’
सामान्य प्रशासन धान्न र ऋणको ब्याज तिर्नको लागि ऋण लिने गरिएको उल्लेख गर्दै यसतर्फ गम्भिर भएर सोच्न समेत अर्थमन्त्रीसँग आग्रह गरे ।