
काठमाडौं । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको नियमन गर्नुपर्ने अवस्था देखिएको भन्दै वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ ।
शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने कार्य हाललाई स्थगन गरिएको जनाएको हो । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको मन्त्रालयको भनाइ छ ।
पढ्ने समय कम भएका विश्वविद्यालयमा भर्ना हुने र पैसा कमाउनतर्फ लागेर अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको मन्त्रालयको भनाइ छ । कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी भर्ना भएकाले समस्या देखिएको समेत मन्त्रालयले जनाएको छ ।
नियमन र व्यवस्थित गर्न कार्यदल गठन गरिएको र कार्यदलको सिफारिसका आधारमा थप निर्णय गर्ने गरी हाललाई एनओसी रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ । दक्षिण कोरिया धेरै नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेमध्ये १० औं मुलुकभित्र पर्छ ।
गत आर्थिक वर्षमा ६ हजार ८ सय ८९ जनाले दक्षिण कोरियाका लागि एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ ।