मुख्य समाचार

शान्तिपूर्ण आन्दोलनलाई भड्काउने प्रयास नगरियोस् : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट सुरु हुने आन्दोलनलाई भड्काउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले संविधानले दिएको अधिकार अन्तर्गत शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने स्पष्ट पारेका हुन्।

थापाले आन्दोलनलाई गलत रूपमा चित्रण गर्दै दुष्प्रचार गर्ने प्रयास भइरहेको आरोप लगाए। ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिन हाम्रो आन्दोलनलाई गलत ढंगले चित्रण गरिंदैछ,उनले भने, हाम्रो आन्दोलन भ्रष्टाचार, कुशासन, बेरोजगारी र योजनाबद्ध धर्मपरिवर्तनविरुद्ध केन्द्रित छ।

थापाका अनुसार, आन्दोलनको मूल उद्देश्य देशको समृद्धि, प्रगति र राष्ट्रियताको सुदृढीकरण हो। संविधानले दिएको शान्तिपूर्ण विरोधको अधिकारको प्रयोग गर्दै जनताको आवाज बुलन्द पारिने उनले बताए। अध्यक्ष थापाले सरकारलाई चेतावनी दिँदै भने, संविधानले सुनिश्चित गरेको अधिकार प्रयोग गर्दा हिंसात्मक आन्दोलनको नाम दिएर दबाउने प्रयास भए असजिलो परिस्थिति निम्तिन सक्छ। उनले सरकारलाई जनताको माग र आन्दोलनप्रति गम्भीर बन्न आग्रह गर्दै, दमनकारी कदमले समस्या थपिने चेतावनी दिए।

आगामी १५ जेठबाट राजावादी पार्टी र विभिन्न संघसंस्थाहरूको संयुक्त आन्दोलनको तयारी भइरहेको थापाले बताए। उनले कार्यकर्ताहरूलाई आन्दोलनको तयारीमा जुट्न र जनसहभागिता बढाउन निर्देशनसमेत दिए। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पार्टीमा प्रवेश गरेका थिए। थापाले नयाँ सदस्यहरूलाई स्वागत गर्दै आन्दोलनलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *