देश

राजावादी आन्दोलनमा पक्राउ परेका रवीन्द्र मिश्रको रिहाइको माग, सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको छ। मिश्रलाई गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। मंगलबार मिश्रको तर्फबाट सारिका कार्कीले नेपाल सरकार गृहमन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन्। रिटमा मिश्रको गिरफ्तारीलाई न्यायिक अधिकारको उल्लङ्घन भएको दाबी गर्दै यथाशीघ्र रिहाइको माग गरिएको छ।

सर्वोच्च अदालतले दायर रिटमाथि वैशाख ३१ गते बुधबार सुनुवाइको मिति तोकेको छ। उक्त दिन मिश्रको उपस्थितिमा अदालतमा मुद्दामाथि छलफल हुने जनाइएको छ। चैत्र १५ गते तीनकुनेमा राजावादी समूहले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा मिश्रलाई अराजक गतिविधि गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनापछि राप्रपाले मिश्रको गिरफ्तारीलाई असंवैधानिक र राजनीतिक पूर्वाग्रह भएको भन्दै विरोध जनाएको छ।

राप्रपाका नेताहरूले मिश्रको गिरफ्तारीलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै छिटोभन्दा छिटो रिहाइको माग गरेका छन्। मिश्रको रिहाइ सम्बन्धी मुद्दाले अब सर्वोच्चको फैसलासँगै नयाँ मोड लिने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *