काठमाडौं । आवासीय चिकित्सकहरूको सेवा सुविधा, ड्युटी आवर, बिदा र अतिरिक्त सुविधालाई व्यवस्थित र सुधार गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विशेष कार्यदल गठन गरेका छन्।
गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितिमा भएको छलफलमा आवासीय चिकित्सकहरूको सेवा सुविधा सुधारका लागि विस्तृत सुझाव तयार पार्ने सहमति भएको थियो। सोही सहमतिलाई मूर्तरूप दिन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
गठित कार्यदलमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्रा.डा. सुजनबाबु मरहट्टा, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेल सदस्य रहेका छन्।
यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्रा।डा। लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. मनोज हुमागाईं, निजी मेडिकल कलेजका प्रतिनिधि डा। सुमेश मिश्र र मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिवको रूपमा कार्यदलमा समावेश छन्।
कार्यदललाई आवासीय चिकित्सकहरूको वर्तमान सेवा सुविधा मूल्यांकन गर्न, अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गर्दै सुधारका लागि कार्यान्वयनयोग्य सिफारिसहरू तयार पार्न निर्देशन दिइएको छ। दुई साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।
प्रवक्ता बुढाथोकीले भने, आवासीय चिकित्सकहरूसँग गरिएको सम्झौता कार्यान्वयनका लागि कार्यदलको प्रतिवेदन महत्वपूर्ण हुनेछ। यसले चिकित्सकहरूको हकहित सुनिश्चित गर्नेछ। स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै, आवासीय चिकित्सकहरूको सेवा सुविधा सुधारका लागि मन्त्रालयको यो कदमलाई सकारात्मक रूपमा हेरिएको छ।




