मुख्य समाचार

स्वदेशमै सवारी अनुमतिपत्र छपाइको तयारी, छिट्टै सहमति हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रमार्फत स्वदेशमै सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्न आवश्यक तयारी सुरु गरेको छ। आज मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच भएको छलफलपछि देशभित्रै लाइसेन्स छपाइको अनौपचारिक सहमति जुटेको मन्त्रालयले जानकारी दिएको छ।

छलफलमा मन्त्रीद्वयका साथै सञ्चार सचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र केन्द्रका उच्च अधिकारीहरूको उपस्थिति थियो। सञ्चारमन्त्री गुरुङले स्वदेशमै लाइसेन्स छपाइ गर्नु भनेको देशको स्वाभिमान र आर्थिक सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको छ, भन्दै छपाइको प्रक्रिया छिट्टै सुरु गरिने प्रतिबद्धता जनाए।

उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रविधियुक्त बनाउँदै, आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्थापन गरी नियमित रूपमा छपाइ कार्य सुरु गर्ने योजना रहेको बताए। गुरुङका अनुसार, छपाइ कार्य सुरु भएपछि हुलाक टिकट, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत कागजात पनि स्वदेशमै छापिनेछन्।

यातायातमन्त्री दाहालले सञ्चार मन्त्रालयसँगको सहकार्यलाई सुदृढ गर्दै छिट्टै लिखित सम्झौता गरिने र छपाइको कार्य सुरु गरिने बताए। ूसरकारको नयाँ र दूरगामी योजनाले जनतामा सकारात्मक सन्देश दिन्छ, उनले भने।

सञ्चार सचिव राधिका अर्यालले छपाइका लागि प्राविधिक तयारी पूरा भएपछि छपाइ मिति तय गरिने जानकारी दिइन्। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले छलफलमा उठेका विषयबारे सञ्चालक समितिमा प्रस्ताव राखेर छपाइ मिति टुंगो लगाइने बताए।

छलफलले करिब ३० लाख लाइसेन्स स्वदेशमै छपाइ गर्न सकिने निष्कर्ष निकालेको छ। दुई वर्षदेखि निष्क्रिय रहेको सुरक्षण मुद्रण केन्द्रलाई पुनर्जीवित गर्दै कर्मचारी व्यवस्थापन र प्रविधि स्तरोन्नतिका लागि पनि काम भइरहेको जनाइएको छ।

सञ्चारमन्त्री गुरुङले एक–दुई दिनभित्र यातायात मन्त्रालय र मुद्रण केन्द्रसँग लिखित सम्झौता गरी छपाइ प्रक्रिया सुरु गरिने स्पष्ट पारे। ूयही वर्षभित्र लाइसेन्स छपाइको कार्य सुरु गर्छौं,ू उनले विश्वास दिलाए।

यो निर्णयले नेपाली लाइसेन्स विदेशमा छाप्नुपर्ने बाध्यता हटाएर आत्मनिर्भरता तर्फको महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *