खेलकुद

खोटाङ हाफ म्याराथनको उपाधि सेनाका पूर्णलक्ष्मी र सञ्जयलाई

खोटाङ। दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत शनिबार सम्पन्न खुला महिला–पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले हात पारेका छन्।

नेपाल खेलकुद प्रतिष्ठानद्वारा आयोजित महोत्सवको पहिलो दिन शनिबार भएको २१ किलोमिटर लामो हाफ म्याराथनमा महिलातर्फ न्यौपानेले १ घण्टा २७ मिनेट १६ सेकेण्डमा तथा पुरुषतर्फ श्रेष्ठले १ घण्टा ८ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पहिलो स्थान हासिल गरे। महिलातर्फ सेनाकै निर्मला केसीले १ घण्टा २७ मिनेट ४० सेकेण्डमा दोस्रो र निशा सार्कीले १ घण्टा २७ मिनेट ४९ सेकेण्डमा तेस्रो स्थान प्राप्त गरिन्।

यसैगरी, पाँचथरकी पुष्पा शेर्पा चौथो, खोटाङकी दीपा बस्नेत पाँचौँ, भोजपुरकी रुष्मा राई छैटौँ, रणभीम गण मुडे ब्यारेककी अमिसा राई सातौँ र सोही गणकी पिपलसुख राई आठौँ भए।

पुरुषतर्फको हाफ म्याराथनमा सेनाकै नरेन्द्रसिं रावतले १ घण्टा ९ मिनेट २० सेकेण्डमा दोस्रो तथा सुशील शाहीले १ घण्टा ९ मिनेट ४६ सेकेण्डमा तेस्रो स्थान हासिल गरे। नेपाल प्रहरीका अजितकुमार यादव चौथो, तेह्रथुमका सरोज लिम्बू पाँचौँ, सेनाका रामजी बस्नेत छैटौँ, सेनाकै कर्णबहादुर रोकामगर सातौँ तथा केन्याका जोन इकिरु केलाइ आठौँ भए।

खुला महिला–पुरुष हाफ म्याराथनका प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुने खेलाडीहरूलाई क्रमशः रु ७७ हजार ७७७, रु ५५ हजार ५५५, रु २५ हजार ५५५, रु १५ हजार ५५५, रु ११ हजार १११, रु ७ हजार ७७७ र रु ५ हजार ५५५ नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। विजयी धावकहरूलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी लगायतले पुरस्कार वितरण गरे।

आयोजक नेपाल खेलकुद प्रतिष्ठानका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने, पर्यटकीय जिल्लाको रूपमा विकास गर्ने र खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *