काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भारत र पाकिस्तानले तत्काल युद्धविराममा सहमति जनाएको बताएका छन् ।
उनले भारत र पाकिस्तानबीच गोलीबारी र सैन्य कारबाही रोक्ने सम्झौता भएको बताए । भारतीय विदेशमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्- ‘भारतले आतंकवादका सबै रूप र अभिव्यक्तिहरू विरुद्ध निरन्तर कडा र दृढ अडान लिएको छ र त्यसो गरिरहनेछ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलको एक पोस्टमा ‘तत्काल र पूर्ण युद्धविराम’ सम्बन्धी सम्झौताको बारेमा जानकारी दिएका थिए ।
त्यसपछि पाकिस्तानका उपप्रधानमन्त्रीले पनि सामाजिक सञ्जालमा यसको पुष्टि गरे । भारतका विदेश सचिव विक्रम मिश्रीले शनिबार साँझ ६ बजेतिर एक संक्षिप्त वक्तव्यमा युद्धविरामको बारेमा जानकारी दिए ।
उनले भने, ‘दुवै पक्षबीच भारतीय समय अनुसार साँझ ५ बजेदेखि दुवै पक्षले जमिन, हावा र समुद्रमा सबै प्रकारका गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको छ ।’




