
काठमाडौँ। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकामा अवस्थित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित यो आयोजना औपचारिक उद्घाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ। २०७७ सालमा निर्माण सुरु भएको आयोजनाबाट २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न थालिसकेको छ। आयोजना सञ्चालनमा आएपछि विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ।
सेती नदी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सबस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
झण्डै रु छ अर्बको लगानीमा सम्पन्न यो आयोजनाबाट सुरुको वर्षमा वार्षिक रू ८७ करोड आम्दानी हुने अनुमान गरिएको छ। आयोजनामा एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकको ऋण लगानी रहेको छ।
कम्पनीले आयोजनाको उद्घाटन समारोह आयोजना गरेको थियो, जहाँ पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र इप्पानका अध्यक्ष गणेश कार्कीलगायतले भिजन लुम्बिनीले ऊर्जा उत्पादनमा स्थापना गरेको मानक उदाहरणीय रहेको बताएका थिए।