काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछिको अवस्थालाई ध्यानमा राख्दै, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतभर रहेका नेपाली नागरिकहरूलाई सचेत र सतर्क रहन आग्रह गरेको छ।
दूतावासले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचना मार्फत सबै नेपालीलाई सुरक्षित स्थानको पहिचान गर्न, भारत सरकारका आधिकारिक सुरक्षा निर्देशनको पालना गर्न र आपतकालीन अवस्थामा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको हो। साथै, आपतकालीन अवस्थामा सहजीकरण तथा आवश्यक समन्वयका लागि सम्पर्क गर्न सकिने नम्बरहरू पनि सार्वजनिक गरिएको छ।
दूतावासले विशेषगरी कश्मीर, पंजाब, हिमाचल प्रदेश जस्ता संवेदनशील क्षेत्रमा रहेका नेपालीहरूलाई थप सतर्कता अपनाउन आग्रह गर्दै, कुनै पनि अप्ठ्यारोमा नजिकको नेपाली मिशनमार्फत सहयोग लिन सकिने जानकारी दिएको छ।





