देश

रौतहटमा ‘एमगज’ हात्तीको विध्वंश रोकिएन, स्थानीय त्रसित

चन्द्रपुर (रौतहट)। रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा बस्दै आएको ‘एमगज’ नामक जंगली हात्तीले स्थानीय बासिन्दालाई आतंकित बनाएको छ। खुट्टामा गोली लागेर घाइते हुँदा स्थानीय किसानले स्याहार गरेको यही हात्ती अहिले घर भत्काउने र कृषिबालीमा क्षति पुर्‍याउन थालेपछि उनीहरू त्रसित भएका छन्।

जुडिबेलाका सुनिप पोखरेलले हात्ती बिरामी हुँदा स्याहार गरेका आफूहरू अहिले कतिबेला हात्तीको आक्रमणमा परिने हो भन्ने डरमा रहेको बताए। “यो हात्ती बिरामी भएको बेला हामीले नै उपचारका लागि विभिन्न क्षेत्रमा पहल गर्यौँ, उपचार पनि भयो। खानेकुरा दियौँ, ज्यान तङ्ग्रियो। त्यो देखेर हामी निकै खुसी भएका थियौँ तर हाल त्यही हात्ती समस्या भयो। घर भत्काउने, खेतीमा नोक्सानी गर्ने गरिरहेको छ। अब त मान्छेलाइ नै कतिबेला मार्ने हो भन्ने डर बढेको छ,” उनले भने।

हात्तीले गत मङ्गलबार चन्द्रपुर–२ जोगिटोलकी एकल महिला फुलमाया कुँवरको घर ध्वस्त पारेको छ। ग्यासदेखि चामलसमेत नष्ट भएको उनले गुनासो गरिन्। नगर प्रमुख सञ्जयकुमार काफ्लेले कुँवरको घर बनाउन स्थानीय युवाहरूले सहयोग जुटाउने र आफूले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सोही टोलकी मैया गिरी आलेले पनि हात्तीले आफ्नो घर भत्काएको र खाद्यान्न लगेको बताइन्। सोही दिन स्थानीय मुक्तिनारायण चौधरीको घर पनि हात्तीले भत्काइदिएको थियो। हात्तीको आतंकले स्थानीय असुरक्षित भएको पुलामीटोल निवासी उत्तम खड्काले गुनासो गरे। हर्दिया खोलाको पोखरीमा दिउँसभरि बस्ने र रात परेपछि गाउँ पस्ने गरेको उनले सुनाए। हात्तीको आतङ्का कारण केही समयदेखि स्थानीय जंगलमा घाँस दाउरा जानसमेत नसकिएको खड्काले बताए।

गत कात्तिकयता हात्तीले जुडिबेलामा मात्रै दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको वडाअध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए। पर्सा राष्ट्रिय निकुञ्ज तथा वन मन्त्रालयका सचिवलाई समेत हात्ती व्यवस्थापनका लागि ध्यानाकर्षण गराइए पनि समस्या समाधान नभएको उनले गुनासो गरे। “यहाँ हात्तीले विध्वंश मच्चाएको सरोकार भएकाहरू सबैलाई थाहा छ। पटकपटक ध्यानाकर्षण गराएका छौँ तर पनि कसैले वास्ता गरेका छैनन्,” वडाअध्यक्ष थिङले भने।

हात्तीले जुडिबेलाका खिकबहादुर पन्त, राजेन्द्र ठाकुर, तारजन मगर, रवीन्द्र लामा, प्रदीप बम्जन, शुक्र पुलामी, केशव पाठक, माइला कँडेल, खिक, रवि पुलामी, कमलबहादुर विक, बद्री कार्की, उमेश थापालगायतका घर भत्काइसकेको छ। यसैगरी, चन्द्रपुर–३ गैडाटारमा पनि एक दर्जनभन्दा बढी घर भत्काइएका छन्। वडाअध्यक्ष बोधनाथ देवकोटाले हात्तीको आक्रमणबाट यहाँका सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बलीमाया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर, साइँला गोलेको घर भत्काएको बताएका छन्।

यही हात्तीको आक्रमणबाट गत कात्तिक १६ गते फतुवा विजयपुर–११ रागी बुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको ज्यान गएको थियो।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *