काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिर्न राजावादी समूहले तयारी गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठका अनुसार जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीसहितका नेताहरूले आजै जरिवाना बुझाउने तयारी गरेका छन्।
गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा सार्वजनिक सम्पत्ति तोडफोड र फोहोर गरेबापत महानगरले पूर्वराजा शाहका नाममा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
यसपछि राजावादी समूहले सामाजिक सञ्जालमार्फत चन्दा संकलन अभियान सञ्चालन गरेको थियो। संकलित रकमबाट जरिवाना तिर्ने र बाँकी रकम समितिले अन्य खर्चका लागि प्रयोग गर्ने बताइएको छ।
प्रवक्ता श्रेष्ठले भने, “यो जरिवाना राप्रपाले होइन, राजावादी साथीहरूले संकलन गरेको रकमबाट तिर्न लागिएको हो। हिजो त्यो रकम संयोजक सुवेदीलाई बुझाइएको छ, आज महानगरमा बुझाउने तयारी छ।”




