विश्व

भारत–पाकिस्तानबीचको तनाव बढ्दै, युद्ध रोक्न अमेरिकाको आग्रह

काठमाडौं ।भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच अमेरिकाले दुवै देशलाई एकअर्काविरुद्ध आक्रमण रोक्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमार्फत उक्त अपिल गरेकी हुन्।

पत्रकारहरूको प्रश्नको उत्तर दिँदै ब्रुसले भनिन्, “अमेरिकाको सन्देश स्पष्ट छ — हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ। मध्यपूर्वमा समेत प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि दीर्घकालीन समाधान निस्कँदैन।”उनले थपिन्, “युद्ध, सेना र हिंसा समाधान होइनन्। नयाँ सोच र कूटनीतिक पहल नै पुस्तौँदेखिको हिंसा र समस्या अन्त्य गर्ने एक मात्र उपाय हो।”

अमेरिकी मध्यस्थताबारे अस्पष्टता
भारत–पाकिस्तानबीचको सम्भावित अमेरिकी मध्यस्थताको सन्दर्भमा प्रवक्ता ब्रुसले प्रत्यक्ष उत्तर दिन अस्वीकार गरिन्।
उनले भनिन्, “जब नेताहरू कूटनीतिक या अन्य स्तरमा संवादमा हुन्छन्, त्यसबारे जानकारी सार्वजनिक नगर्नु हाम्रो नीति हो। यस्तो संवाद गोप्य राख्नु नै प्रभावकारी कूटनीतिक अभ्यास हो।”

यद्यपि, उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग टेलिफोन संवाद गरेकाे जानकारी दिइन्।
उनका अनुसार सो कुराकानीमा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न, हिंसा तत्काल रोक्न र प्रत्यक्ष वार्ता अघि बढाउन आग्रह गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *