मुख्य समाचार

पाकिस्तानद्वारा लगातार दोस्रो दिन पनि भारतीय शहरहरूमा ड्रोन र मिसाइल आक्रमण

 

काठमाडौं। पाकिस्तानले लगातार दोस्रो दिन पनि भारतका विभिन्न शहरहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। बिहीबार तीनवटा राज्यका ११ शहर लक्षित ड्रोन आक्रमण भएको बताइएको छ।

जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनियामा ड्रोन आक्रमण भएको रिपोर्ट छ। त्यस्तै, पाकिस्तानले पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण शहरमा पनि ड्रोन आक्रमण गरेको दाबी गरिएको छ।

पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तर भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको भारतीय पक्षले जनाएको छ। राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण भएको र राजस्थानका सबै सीमावर्ती जिल्लामा ‘ब्ल्याकआउट’ गरिएको बताइएको छ।

पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कतामा रहेको बताइएको छ। पञ्जाबको जालन्धर र अमृतसरमा पूर्ण रूपमा अन्धकार छ भने बीकानेर र श्रीगंगानगरमा पनि ब्ल्याकआउट गरिएको खबर छ। जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पूर्ण ब्ल्याकआउट गरिएको र आरएस पुरा सेक्टरमा पाकिस्तानतर्फबाट भारी गोलाबारी भइरहेको बताइएको छ। धेरै ठाउँमा बम विस्फोटको आवाज सुनिएको रिपोर्टहरूमा उल्लेख छ।

सञ्चारमाध्यमका अनुसार नियन्त्रण रेखा नजिकै कुपवाडा र बारामुल्लामा दुवैतर्फबाट भारी गोलाबारी भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *