बरहथवा। हरिपुर्वा नगरपालिकाका विद्यार्थीहरूले पढ्नकै लागि छिमेकी पालिकामा जानुपर्ने बाध्यता कहिलेसम्म भोग्नुपर्ने हो भनी स्थानीय सरकारलाई बारम्बार प्रश्न गरिरहेका छन्। उनीहरूले आफ्नै पालिकामा गुणस्तरीय पठनपाठनको वातावरण बनाउन माग गरेका छन्।
हरिवनमा बिहीबार आयोजित ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा विद्यार्थीहरूले नगरको शैक्षिक अवस्था दयनीय भएको गुनासो गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरे। हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पढाइ हुन छाडेपछि छिमेकी ईश्वरपुर जान बाध्य भएको बताए। कक्षा ९ मा अध्ययनरत भण्डारीले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको विद्यालयमा जानुपर्ने हो भनी गुनासो गरे। उनले हरिपुर्वा नगरपालिका–४ स्थित श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने र आए पनि कक्षामा नजाने समस्या रहेको बताए।
“विद्यालय विद्यालयजस्तो छैन,” छात्र भण्डारीले भने, “विद्यालय नै तर्साउने घरजस्तो भएको छ। हामी कसरी उत्साहित भएर पढ्नु?” उनले स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको गुनासो गरे। लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५ स्थित श्री जनता मावि गोनाहामा पढ्न जाने गरेको उनले बताए। गाउँमा विद्यालय नियमित नचल्दा बालबालिका स्कुल नजाने र कुलतमा लाग्ने तथा बीचैमा पढाइ छाड्ने समस्या बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। भण्डारीले नगरप्रमुख साहसँग विद्यालय नियमित गरिदिन र आवश्यकतानुसार शिक्षक तथा भौतिक संरचनाको व्यवस्था गरिदिन माग गरे।
हरिपुर्वा नगरपालिका–६ स्थित श्री केश्वर गरिब जनता नमूना माविमा अध्ययनरत छात्रा निलमकुमारी साहले विद्यालय पठनपाठनमा नभई भद्रगोलमा नमूना भएको गुनासो गरिन्। शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा अधिकतम ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था भए पनि यस विद्यालयमा एउटै कक्षामा १५० जनासम्म विद्यार्थी राख्ने गरेको उनले दुःखेसो पोखिन्। यसरी सञ्चालन गरिएको कक्षामा पढ्ने वातावरण नभएको अर्की छात्रा रीता महतोले बताइन्। “विद्यालयमा कक्षाकोठा पर्याप्त नहुँदा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन्, अगाडि बसेर शिक्षकले पढाएको पछाडि बस्ने विद्यार्थीले सुन्दैनन्,” उनले भनिन्, “हामीले बारम्बार विद्यालय तथा बाल क्लबको सहायता माग राख्दा सुनवाइ भएन।” कक्षा ९ मा अध्ययनरत साहले नगरका अधिकांश विद्यालयको हालत उस्तै रहेको बताइन्। छात्रछात्रा नभएको विद्यालयमा भौतिक संरचना पर्याप्त हुने तर आवश्यक परेका स्थानका बालबालिकाले सुविधा नपाउने अवस्था रहेको उनको भनाइ थियो। स्थानीय सरकारको दोस्रो कार्यकालको तीन वर्ष पुग्न लाग्दा पनि स्कुल वर्षात्मा तलाउ बन्ने र हिउँदमा धुलो उडेर बस्न नसक्ने अवस्था रहेको उनले बताइन्।
अर्कातर्फ विद्यालयमा बेलाबेलामा हुने विवादका कारण सम्पूर्ण पठनपाठन नै अवरुद्ध हुने गरेको सहभागी छात्र राजु रामले बताए। गत शैक्षिक सत्रमा पनि विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद हुँदा निकै समय विद्यालय बन्द रह्यो। परीक्षाको केही दिनअघि मात्र पनि एक हप्ता पढाइ रोकिएकाले परीक्षाको समयमा धेरै समस्या भएको उनको अनुभव छ।
हरिपूर्वा नगरपालिका–१ निवासी सिम्कनु खातुनले किशोरकिशोरीमा क्यान्सरजस्तै गरी फैलिरहेको लागुपदार्थ दुर्व्यसनी नियन्त्रण गरिदिन आग्रह गरिन्। विपन्न परिवारका किशोरकिशोरी परिवारका सदस्यलाई समेत दुःख दिएर यस्ता गतिविधिमा संलग्न हुने क्रम बढ्दो रहेको र यस्ता गतिविधि रोक्न स्थानीय सरकार उदासीन भएको उनको आरोप छ।
कार्यक्रममा नगरप्रमुख साहले विद्यार्थीका प्रश्न तथा जिज्ञासा सुनेपछि निर्वाचित भएको दुई वर्षसम्म प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँदैमा व्यस्त भएको बताए। “बाँकी समयमा आफ्नो एजेण्डाअनुसार शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु,” उनले भने, “लागुऔषध, बालविवाहलगायत अवाञ्छित गतिविधिमा संलग्न जोकोहीलाई कारबाहीका लागि पहल गरिरहेका छौँ।” प्रशासनले तुरुन्त कारबाही प्रक्रिया अगाडि नबढाउने र गाउँ समाजले समेत परिवेश र संरचनालाई दोष दिएर उम्किने गरेको उनको भनाइ छ। पालिका तथा वडावडामा बालमैत्री पुस्तकालय र कम्प्युटरसहितका कक्षा सञ्चालन गर्न बालबालिकाको आग्रह थियो। नगरको शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिलगायतका योजना प्राथमिकताका साथ सुरु गर्नुपर्ने सहभागी विद्यार्थीको माग छ।




