काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा आज एक विशेष कार्यक्रम आयोजना गरी स्वागत गरेका छन्।
परोपकारी संस्था ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ को आयोजनामा नेपालमा जारी यी दुई लोकप्रिय रियालिटी शोका प्रतिस्पर्धीहरूलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न सबैले आआफ्नो स्थानबाट पहल गर्न आग्रह गरे।
राष्ट्रपति पौडेलले विभिन्न देशबाट नेपाल आएका प्रतिस्पर्धीहरू सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा नेपाली समुदायमाझ पुर्याउन इन्ट्रा फाउण्डेसनको प्रयासको सराहना गरे। नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक हप्ताको बिहीबार र शुक्रबार ‘मेरो भ्वाइस युनिभर्स’ र आइतवार र सोमबार ‘मेरो डान्स युनिभर्स’ प्रसारण भइरहेका छन्।
इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वभरका नेपाली जातिलाई संस्कृतिको एउटै मालामा उनेर नेपालसँग जोड्न फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सपनालाई यी रियालिटी शोहरूले साकार पारिरहेको जानकारी दिए। विश्वका ६० देशमा बसोबास गर्ने नेपालीहरू यी कार्यक्रमहरूसँग जोडिएको र २३ देशका नेपाली प्रतिभाहरूलाई नेपाल ल्याइएको उनले बताए।




