कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईद्वारा आज धनगढीमा आयोजित प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण सम्बन्धी अन्तरक्रिया एवं नीति, कार्यक्रम तथा बजेट सम्बन्धी छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताए।
मुख्यमन्त्री शाहले एक अर्काको अस्तित्व स्वीकार नगर्दा अवस्था जटिल बन्दै जाने चेतावनी दिए। “बजेट निर्माणमा सधैँ हामीले त्रुटी गरिरहने र जनताले गुनासो गरिरहने परिपाटीलाई पटकपटक दोहोऱ्याउने हो भने सङ्घीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ,” उनले भने। तीन तहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा उनले जोड दिए।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूची प्रस्तुत गर्दै सहभागीहरूलाई स्वागत गरेका थिए। अन्तरक्रिया कार्यक्रममा विभागीय मन्त्रीहरू, विषयगत समितिका सभापतिहरू, प्रदेशसभा सदस्यहरू, मुख्यसचिव, विभागीय सचिवहरू र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।




