देश

ईभीमा कर बढ्ने हल्लाले व्यापारीको आयातमा होडबाजी

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (ईभी) मा कर बढाउन सक्ने चर्चा चलिरहेका बेला व्यापारीहरू भने त्यसको फाइदा उठाउने दौडमा लागेका छन् ।

आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटले मूल्य बढाउँछ भन्ने अनुमानसहित व्यापारीहरू धमाधम गाडी आयातमा केन्द्रित देखिन्छन् । राजश्व सङ्कलनमा दबाब खेपिरहेको सरकारले स्रोत बढाउन ईभीमा कर बढाउन सक्ने चर्चा चलिरहेको छ । तर, औपचारिक निर्णय भई सकेको अवस्थामा भने होइन । यद्यपि, व्यवसायीहरु भने बजेट अघि नै अर्थात् कर बढ्नु अघि ठुलो मात्रा गाडी आयात गरी स्टक राख्ने होडमा देखिएको छ । अर्थात व्यापारीहरु अघिल्लो मूल्यमै स्टक गरी बजेटपछि मुनाफा कमाउने रणनीतिमा देखिन्छन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भने १८ अर्ब ६२ करोड २२ लाख रुपैयाँ बराबरको ७ हजार ९६७ वटा ईभी आयात भएको विभागले जनाएको छ । जसका कारण यति बेला बजेटको अघोषित संकेतले ईभी बजार तातेको छ ।

तातोपानी भन्सार कार्यालयका अनुसार अहिले त्यहाँ १ हजारभन्दा बढी ईभी थन्किएका छन् । तीमध्ये आधाजसो वैशाख महिनामा मात्र भित्रिएका हुन् । उता, रसुवागढी भन्सार नाकाबाट वैशाख यता मात्रै १ हजार ३५० युनिट ईभी भित्रिएका छन् । तीमध्ये ८०० युनिटको जाँच पास भइसकेको बताइएको छ । बाँकी ५५० युनिट अझै प्रक्रिया पर्खिरहेका छन् ।

रसुवागढी भन्सार कार्यालयका अनुसार दैनिक ३० देखि ४० युनिट गाडीको भन्सार जाँच पास हुँदै आएको छ ।
उनीहरू अघिल्लो मूल्यमै स्टक गरी बजेटपछि मुनाफा कमाउने रणनीतिमा देखिन्छन् ।

सरकारले ईभीलाई प्रोत्साहन नीति अघि सारिने भन्दै आएको छ । तर, स्रोत बढाउने चक्करमा यसपालि भने बजेट मार्फत कर बढाउने हल्ला फैलिएको छ । यस्तै चर्चा चलिरहेका बेला व्यवसायीहरू भने बजेट अघि नै गाडी आयात गरी लाभ लिने होडमा छन् । यद्यपि, कर बढ्ने हल्लाले भन्दा पनि बजार माग अनुसार नै ईभी आयात बढेको हुन सक्ने कतिपयको बुझाई छ । कर थप्ने संकेतसँगै व्यवसायीहरू गाडी आयातमा बढाउनै केन्द्रित छन् । उनीहरू बजेट अघि नै गाडी आयात बढाएर मूल्य वृद्धिको अवसर साध्ने दाउमा छन् । व्यापारीले आयात गरेका गाडीलाई स्टक गरेर बजेटपछि उच्च मूल्यमा बेच्ने रणनीति अपनाए पनि कर वास्तवमै बढ्छ कि बढ्दैन भन्ने निश्चित भने छैन ।

हाल नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ । ती मुलुकहरूबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका ईभी आयात हुँदै आएका छन् ।
भन्सार विभागका तथ्याङ्क अनुसार गत चैतमा १ अर्ब ९७ करोड २५ लाख रुपैयाँ बराबरका ८७८ वटा ईभी नेपाल भित्रिएका थिए । तर, यो आँकडा आगामी बजेटअघि नै ठुलो परिणाममा बढ्ने देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *