मुस्ताङ। थासाङ गाउँपालिका–२ सौरु गाउँमा अवस्थित पाँच सय वर्ष पुरानो सौरु गुम्बाको जीर्णोद्धार कार्य सम्पन्न भएको छ।
पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचनले २२ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोगमा गुम्बाको जीर्णोद्धार गराएका हुन्।
गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण अवस्थामा रहेको गुम्बाको भित्री र बाहिरी भागमा आवश्यक मर्मतसम्भार गरिएको छ। गुम्बा परिसरमा ढलान गरिएको छ भने विद्युत् सेवाको पनि व्यवस्था गरिएको छ। जीर्णोद्धारसँगै गुम्बामा शौचालय लगायतका अत्यावश्यक संरचनाहरू पनि निर्माण भएका छन्।




