दोधारा चाँदनी। एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा महेन्द्रनगर बजारमा अपाङ्गमैत्री पैदलमार्गसहित १४ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। यससँगै महेन्द्रनगरका पाँचवटा गल्लीलाई आठ मिटर चौडा बनाइएको छ, जहाँ अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज पैदलमार्ग र साइकल लेनको व्यवस्था गरिएको छ।
महेन्द्रनगरलाई गुरुयोजना अनुसार व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले भीमदत्त नगरपालिकाले एडिबीको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत बजारलाई आधुनिकीकरण गरेको हो। भीमदत्त नगरपालिकाका सब–इन्जिनियर पवन लेखकका अनुसार आयोजनाको पहिलो चरणमा एक अर्ब रुपैयाँको लगानीमा १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। यसका साथै २२ किलोमिटर ढल निकास, बजार क्षेत्रमा चार किलोमिटर रेलिङ र ७७६ वटा लाइट तथा आठवटा हाइमास्ट लाइट जडान गरिएको उनले जानकारी दिए।
सब–इन्जिनियर लेखकले भने, “हामीले बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौँ। १४ किलोमिटर कालोपत्रे सडकमा अपाङ्गमैत्री पैदलमार्ग बनेको छ। बजारका विभिन्न स्थानमा सौन्दर्यका लागि पार्कसमेत निर्माण गरिएका छन्। बिजुलीका पोल र टेलिफोनका तारहरूलाई व्यवस्थित गरिएको छ भने पार्किङको व्यवस्थापन पनि गरिएको छ।” पहिलो चरणको काम सम्पन्न भइसकेको र देखिएका केही समस्याहरूको निर्माण कम्पनीले मर्मत गरिरहेको उनले बताए।
लेखकका अनुसार अब दोस्रो चरण अन्तर्गत आठ किलोमिटर सडक र दश किलोमिटर ढल निकास निर्माणका लागि ६६ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ। आधुनिक सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ।
यहाँका जानकारहरूका अनुसार तत्कालीन राजा महेन्द्रले गुरुयोजना अनुसार महेन्द्रनगर बजारको निर्माण गरेका थिए। विसं २०१८ मा उनले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए र त्यतिबेला बेलौरीमा रहेको सदरमुकाम पनि महेन्द्रनगर सारिएको थियो।
स्थानीय पर्यटन व्यवसायी जगदीशचन्द्र भट्ट बजारलाई थप व्यवस्थित गर्न सके यो सहर हेर्न लायक बन्ने बताउँछन्। “महेन्द्रनगर बजार आकर्षक, व्यवस्थित र सुरक्षित छ, जसले गर्दा यहाँ लगानीकर्ताहरू पनि आकर्षित भइरहेका छन्,” उनले भने, “हाल निर्माण भएको अपाङ्गतामैत्री पैदलमार्ग र साइकल लेनले बजारको सुन्दरता थपेको छ। यसले व्यापार व्यवसायमा समेत थप टेवा पुगेको छ।”
महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली र व्यापारिक केन्द्र भएकाले यसलाई नगरपालिकाले थप व्यवस्थित गर्नुपर्ने यहाँका व्यवसायीहरूको माग छ। व्यवसायी कृष्णानन्द भट्ट भन्छन्, “हाल आधुनिक बजार बनेको छ, यहाँ निर्माण भएका गल्लीहरू पर्यटकहरूका लागि आकर्षक छन्। अब बजार क्षेत्रमा भएका पोल व्यवस्थापन गरी तारलाई भूमिगत गर्न सकिए सुन्दरता थपिने छ। सडक किनारामा हरियाली र थप लाइटिङ व्यवस्थापन गर्न सके महेन्द्रनगर बजार थप राम्रो हुनेछ।”
स्थानीय इन्द्र साउद परम्परागत स्वरूप नबिग्रिने गरी गुरुयोजना अनुसार बजार व्यवस्थापन गरिनुपर्ने र सौन्दर्य बिगार्ने गरी बनाइने संरचना र अतिक्रमणमा कडाइका साथ प्रस्तुत हुनुपर्ने धारणा राख्छन्।
तत्कालीन राजा महेन्द्रले बसाएका कारण यस बजारको नाम महेन्द्रनगर राखिएको हो। महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् र हरेक गल्लीको आफ्नै विशेषता छ। पहिलो गल्लीमा मेडिकल र हार्डवेयर पसलहरू बढी छन् भने दोस्रो गल्लीमा बैंक, छापाखाना, इलेक्ट्रोनिक र किराना पसलहरू छन्। त्यस्तै, तेस्रो गल्लीमा अधिकांश मेडिकल र केही होटल तथा बैंक छन्। यसैगरी, चौथो गल्लीमा होटल, मेडिकल र बैंक तथा पाँचौं गल्लीमा पुस्तक पसल तथा बैंकहरू बढी छन्।
यहाँको मदन चोकदेखि बसपार्क मञ्चलाइनमा होटल तथा फेन्सी पसलहरू छन्। महेन्द्रनगरको गल्ली नम्बर पाँच सबैभन्दा बढी भीडभाड हुने क्षेत्र हो, जसलाई क्याम्पस रोड पनि भनिन्छ। यहाँका हरेक गल्ली विपद्का बेला दमकल र एम्बुलेन्स सहजै आवतजावत गर्न सक्ने गरी निर्माण गरिएका छन्।
यहाँ बजारको छेउमा खुलामञ्च छ, जहाँ विभिन्न कार्यक्रम र खेलकुद सञ्चालन हुन्छन्। यहाँको व्यापार–व्यवसाय प्रमुख राजमार्ग र ग्रामीण बस्तीसम्म विस्तार भएको छ। व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने महेन्द्रनगर भारतका ठूला औद्योगिक सहर नजिक रहेकाले पनि बढी महत्वको छ। एडिबीको सहयोगमा सहर सौन्दर्यीकरणको काम अघि बढेपछि स्थानीय व्यापारीहरू उत्साहित भएका छन्।




