काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुश शासनकालमा जस्तो अहिले सरकारको कुनै हस्तक्षेप नहुने भएकाले गोरखापत्र प्रकाशन आफ्नो विवेकले देखेको कुरा लेख्न पूर्ण रूपमा स्वतन्त्र रहेको बताएका छन्।
गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेशको अवसरमा आज गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले इतिहासका अनेक घटनाको साक्षी बनेको गोरखापत्रले राष्ट्रलाई ठूलो योगदान गरेको बताए। उनले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा गोरखापत्रले आफ्नो पहिलो प्रकाशनमै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया…’ को उद्घोषबाट सुरु गरेको स्मरण गरे।
“राणा शासन र राजतन्त्रको समयमा शासकविरुद्ध कुनै सङ्केतसम्म छाप्न पाइँदैनथ्यो। अहिले हामी स्वतन्त्र छौँ। प्रधानमन्त्रीको तर्फबाट गोरखापत्रलाई कुनै पनि प्रकारको दबाब, निर्देशन वा इशारा हुँदैन। तपाईंहरू आफ्नो विवेकले देखेको जे पनि लेख्न स्वतन्त्र हुनुहुन्छ,” प्रधानमन्त्री ओलीले भने, “निरङ्कुशताको तरबारबाट गोरखापत्र सधैँ प्रताडित थियो, तर अहिले यो पूर्ण रूपमा स्वतन्त्र छ। यसले सरकार, देश र जनताप्रतिको बफादारितालाई निरन्तर पालना गर्दै आएको छ। मुलुकको सभ्यता, संस्कृति, अर्थतन्त्र र नेपाली भाषाको विकासमा यसले पुर्याएको योगदानको म प्रशंसा गर्दछु।”
गोरखापत्रले सिंगो समाजको सेवा गरेर ठूलो गुन लगाएको बताउँदै प्रधानमन्त्री ओलीले अब यसले पपुलिस्ट प्रवृत्ति बोकेका सञ्चारमाध्यमको चुनौती सामना गर्नुपर्नेमा जोड दिए।
“जसरी पनि नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकता प्रयोग गरेर चरित्र हत्या गर्ने, आज एउटा झुटलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले प्रतिस्पर्धा गर्नुपर्नेछ,” उनले भने, “गोरखापत्रले पत्रकारितामा एउटा उच्च मापदण्ड स्थापित गरेको छ। यो केवल कमाइको भाँडो नभई जनतालाई सूचना, मनोरञ्जन दिने र भाषा, कला तथा संस्कृतिको विकासमा योगदान गर्ने संस्था हो। भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न यो सक्षम रहोस् भन्ने मेरो शुभकामना छ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार एवं संस्थानका पूर्वअध्यक्ष विजय चालिसे लगायत उत्कृष्ट पत्रकार र कर्मचारीहरूलाई पुरस्कार वितरण गरे।




