देश

भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सचेत रहनुपर्ने बताएका छन्। भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण दुई देशबीच हुनसक्ने द्वन्द्वले नेपालमा पार्ने अल्पकालीन र दीर्घकालीन असरबारे सरकारले समयमै छलफल गर्नुपर्नेमा उनीहरूले जोड दिए।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले दक्षिणपूर्वी एसियामा द्वन्द्व चर्किएको र यस्तो अवस्थामा राष्ट्रिय राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको औँल्याए। संविधान संशोधन, सङ्घीयताको सुदृढीकरण, संस्कृति संरक्षणमा न्यूनतम सहमति गरी जनतालाई आशा जगाउनुपर्ने उनको भनाइ थियो। उनले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरको त्रास बढेको र बर्दियामा चितुवाको आक्रमणबाट धेरै नागरिक हताहत भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए।

नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले सरकारले नयाँ योजनासहित ल्याएको नीति तथा कार्यक्रमलाई पारित गराउन सकारात्मक पहल हुनुपर्ने बताए। उनले परम्परागत नीति तथा कार्यक्रमलाई क्रमभङ्ग गर्दै सरकारले हिम्मतका साथ नयाँ योजना ल्याएको धारणा राखे। प्रतिपक्षी दलका सांसदहरूले तथ्यपरक र सत्यपरक भनाइ राख्दै नीति तथा कार्यक्रममाथि सकारात्मक टिप्पणी गर्नुपर्नेमा उनले जोड दिए।

माओवादी केन्द्रका सांसद रुपा सोशी (चौधरी) ले ठूला भ्रष्टाचार र अनियमितता नियन्त्रणमा सरकार सक्रिय हुनुपर्ने बताइन्। उनले समाजवादोन्मुख अर्थतन्त्रका लागि निजीकरणभन्दा सार्वजनिक निजी साझेदारीलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्। नेपाल विद्युत् प्राधिकरण घाटामा गएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराइन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्की (भण्डारी) ले नेपाल राष्ट्र बैंकको गभर्नर पद लामो समयदेखि रिक्त रहेको भन्दै चाँडो नियुक्ति गर्न माग गरिन्। उनले देशमा आर्थिक समस्या बढिरहेको र गभर्नर जस्तो संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।

राप्रपाका सांसद विक्रम पाण्डेले वर्षायाम सुरु हुन लागेको र अत्यधिक वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिम व्यवस्थापनको तयारी थाल्न सरकारको ध्यानाकर्षण गराए।

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले वरिष्ठ वामपन्थी नेताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुशासन र विकासलाई तीव्रता दिन सरकारलाई आग्रह गरे। उनले बुटवल–नारायणगढ सडकखण्डको निर्माण यथाशीघ्र सम्पन्न गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *