काठमाडौँ। छिमेकी मुलुकमा गम्भीर संकट र अस्थिरता छाएको समयमा पाकिस्तानको उच्चस्तरीय सैनिक मण्डलको नेपाल भ्रमणलाई लिएर संसदमा प्रश्न उठेको छ। नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले बुधबारको संसद बैठकमा उक्त भ्रमणको समय र औचित्यमाथि गम्भीर प्रश्न उठाएका हुन्।
सांसद साउदले हालै छिमेकमा भएको भयावह आतंककारी घटना र त्यसले सिर्जना गरेको संवेदनशील परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको नेपाल भ्रमण भएकोमा आश्चर्य व्यक्त गरे। उनले भ्रमण पूर्वनिर्धारित भए पनि वर्तमानको असामान्य अवस्थालाई मध्यनजर गर्दै कूटनीतिक सुझबुझका साथ तत्कालका लागि भ्रमण स्थगन गर्नु बुद्धिमानी हुने धारणा राखे।
“हाम्रा आफ्नै नागरिक आतंकको सिकार भएका छन् र छिमेकमा युद्धको आगो सल्किरहेको छ,” साउदले भने, “यस्तो संवेदनशील घडीमा सरकारले कूटनीतिक जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्छ।” उनले भ्रमणलाई तत्कालका लागि स्थगित गरी उपयुक्त समयको प्रतीक्षा गर्न सरकारलाई सुझाव दिए।
यद्यपि, नेपाली सेनाले यो भ्रमण पूर्वनिर्धारित तालिम कार्यक्रम अन्तर्गत भएको जनाएको छ। तर, पूर्वपरराष्ट्रमन्त्री साउदको यो प्रश्नले दुई देशबीचको सम्बन्ध र नेपालको कूटनीतिक संवेदनशीलतालाई लिएर बहस सिर्जना गरेको छ। उनले सरकारलाई यस्ता विषयमा थप गम्भीर र संवेदनशील हुन आग्रह गर्दै नागरिक जागरण र स्वास्थ्य सचेतनाका मुद्दालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए।




