काठमाडौँ । भारतद्वारा पाकिस्तानमा राति गरिएको हवाई आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव उच्च विन्दुमा पुगेको छ। आक्रमणपछि दुवै देश सतर्क अवस्थामा छन् भने सुरक्षात्मक उपायस्वरूप विद्यालयदेखि एयरस्पेससम्म बन्द गरिएको छ।
भारतले जम्मु–कश्मीर, हरियाणा, पञ्जाब लगायतका सीमावर्ती राज्यहरूमा हवाई क्षेत्र (एयरस्पेस) बन्द गरेको छ। साथै, जम्मु–कश्मीरका विद्यालयहरू पनि अनिश्चितकालका लागि बन्द गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।
पाकिस्तानले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ, जसको असर अन्तर्राष्ट्रिय उडानहरूमा परेको छ। धेरै उडानहरू डाइभर्ट तथा स्थगित गरिएको छ।
हवाई आक्रमणपछिका केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा ध्वस्त संरचनाहरू देखिन्छन्। भारत र पाकिस्तानलाई विभाजन गर्ने नियन्त्रण रेखा (LoC) क्षेत्रमा दुवैतर्फबाट गोलीबारी जारी छ।
पाकिस्तानी सेनाको गोलीबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको भारतले दाबी गरेको छ। उता, पाकिस्तानले भारतीय हवाई आक्रमणमा एक बालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेको छ।
स्थिति जटिल बन्दै जाँदा क्षेत्रीय स्थायित्वप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।




