विश्व

रअले छानेकाे थियाे आतंकवादी अड्डा : पाकिस्तानको प्रतिक्रिया तीव्र

काठमाडौँ । जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिल २०२५ मा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा रहेका आतंकवादी अड्डाहरूमा सटीक हवाई हमला गरेको छ। ‘अपरेशन सिन्दूर’ नाम दिइएको यो कारबाही भारतीय सेना, वायुसेना र नौसेनाको समन्वयमा गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार कारबाहीको रणनीति र लक्ष्यको पहिचान भारतको खुफिया संस्था रिसर्च एन्ड एनालिसिस विङ (रअ) ले गरेको थियो। रअले आक्रमणका लागि जिम्मेवार ठानिएका आतंकवादी समूहहरू र तिनका अड्डाहरूको सटीक जानकारी उपलब्ध गराएको बताइएको छ।

पहलगामको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो, जसमा धेरैजसो पर्यटक थिए। उक्त घटनाले भारतमा ठूलो आक्रोश फैलिएको थियो।

खुफिया जानकारीका आधारमा ७ मेको मध्यरातमा भारतीय वायुसेनाले पाकिस्तान प्रशासित क्षेत्रमा रहेका छ वटा आतंकवादी अड्डाहरूमा एकसाथ हमला गरेको थियो। भारतीय पक्षले सैन्य कारबाहीलाई ‘गैर-उत्तेजक’ भनेको छ, जसअनुसार पाकिस्तानी सैन्य संरचनाहरूलाई निशाना बनाइएको थिएन।

तर पाकिस्तानले आक्रमणमा नागरिक र मस्जिदहरू प्रभावित भएको दाबी गरेको छ। साथै, उसले आवश्यक परेमा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

भारतको रक्षा मन्त्रालय र सेनाले आक्रमणपछि सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै लेखेको छ, “न्याय सम्पन्न भयो। जय हिन्द!” भारतीय सैन्य स्रोतहरूका अनुसार कारबाहीले आतंकी नेटवर्कमा ठूलो क्षति पुर्‍याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *