विश्व

भारत–पाकिस्तानबीचको तनावबारे संयुक्त राष्ट्रसंघको चिन्ता, संयम अपनाउन आग्रह

काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयमित रहन अपिल गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा (LoC) र अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतद्वारा गरिएका सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित’ रहेको बताएका छन्।

प्रवक्ता दुजारिकले भने, “भारत र पाकिस्तान दुबैलाई सैन्य गतिविधिमा अधिकतम संयम अपनाउन आग्रह गर्दछौँ। यी दुई देशबीचको कुनै पनि प्रकारको सैन्य भिडन्त सम्पूर्ण संसारका लागि विनाशकारी हुनसक्छ।”

यसअघि, ५ मेमा महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत भारत–पाकिस्तानबीचको पछिल्लो तनाव पछिल्ला वर्षहरूमा सबैभन्दा गहिरो भएको उल्लेख गरेका थिए।

महासचिवले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा गर्दै आतंकवादको सबै स्वरूपविरुद्ध संयुक्त राष्ट्रको प्रतिबद्धता दोहोर्याएका थिए।

भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न राष्ट्र हुन्, जसका कारण दुई देशबीचको कुनै पनि सैन्य तनावले विश्वव्यापी प्रभाव पार्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *