काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच गत फागुन ४ गते सम्झौता भएको थियो ।
सम्झौताअनुसारको औषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया सुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले जानकारी दिए ।‘‘पाँच प्रकारका औषधी आएको छ’’, उहाँले भन्नुभयो, ‘‘आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने छ ।’’मन्त्रालयले सङ्घीय राजधानी काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधी वितरण गर्ने भएको छ ।
यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलले निर्णय गर्नुभएको थियो ।निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।त्यसअनुसार औषधी व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबिच यससम्बन्धी सम्झौता भए पछि वितरणको प्रक्रिया सुरु भएको हो ।
अब महासङ्घबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधी मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।




