काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेका छन् ।मंगलवार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताए । उनले काठमाडौँभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहेको भएपनि काठमाडौं बाहिर भने जनशक्तिको पूर्ण रुपमा अभाव रहेको बताए । उनले संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको बताए ।
उनले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौं बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने बताए । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको बताए ।
मन्त्री पौडेलले भने ‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिति छैन । तर टिक्ने कुरा असाध्यै मुस्किल छ । टिकाउने कुरा असाध्यै गाह्रो पनि रहेको छ । काठमाडौँभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति छ । तर काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको स्थिति छ । संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै हुनुहुन्छ । बाँकी यतै काठमाडौंतिरै भएको स्थिति छ । जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौं बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति हामीले बनाउन सक्नुपर्छ । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ । जनशक्ति उत्पादन कम खर्चिलो नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिति हामीले बनाउन जरुरी छ । त्यो जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ति प्रोत्साहित गर्न जरुरी छ ।’
मन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गरेको उल्लेख गरे । उनले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा बिस्तार गरिरहेको बताए । उनले राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए ४ प्रतिशत लगानीले नपुग्ने उल्लेख गरे ।




