बाँके। महिला तथा किशोरीहरुका लागि आज बैजनाथ गाउँपालिकामा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
बैजनाथ गाउँपालिकाका विभिन्न वडाका महिला तथा किशोरीहरुलाई एफकेबी युके र बास नेपालले आज (आइतबार) महिनावारी स्वच्छता शिक्षा प्रदान गर्दै पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरेको हो।
किशोरी तथा महिलाहरुलाई महिनावारी स्वच्छता सम्बन्धि शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बजारमा पाइने स्यानिटरी प्याडलाई प्रयोग नगरी पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याडको प्रयोग गर्ने तरिकाका साथै उक्त प्याड प्रयोग गर्दा हुने आर्थिक बचत तथा स्वास्थ्यमा हुने फाइदाहरुको बारेमा जानकारी गराइएको थियो।
बैजनाथ गाउँपालिकाका विभिन्न वडाका ७५ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बास नेपालका सदस्य राष्ट्रिय बुढामगरले रियुजऐवल सेनीटरी प्याड तीन वर्षसम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, साबुन, क्लिप लगायत आवश्यक सामग्रीको बारेमा जानकारी गराउनु भएको थियो। साथै किट ब्याग वितरण गर्नु भन्दा अगाडि फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाइदा लगायतका विषयमा फ्लेस कार्ड सहित अभिमुखीकरण गरिएको थियो। अभिमुखीकरण पछि ७५ जना किशोरी तथा महिलाहरुलाई पुनः प्रयोग गर्न मिल्ने फ्रिडम किट ब्याग वितरण गरिएको थियो।
कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले महिनावारी स्वच्छता शिक्षा कार्यक्रमले महिनावारी भएको समयमा किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट बच्न सजग गराएको बताउनु भयो। पुनः प्रयोग गर्न मिल्ने फ्रिडम किट ब्याग वितरणले पालिकाका विपन्न तथा सिमान्तकृत किशोरी तथा महिलाहरुले लाभ पाएको बताउदै उहाँले भन्नुभयो, महिनावारी सम्बन्धि गाउँमा अझै पनि अन्धविश्वास रहेकाले त्यो अन्धविश्वास हटाउन र महिनावारी हुँदा आफ्नो स्वास्थ्यको सरसफाईको विषयमा कार्यक्रमबाट किशोरी तथा महिलाहरुले जानकारी पाएको रोकायको भनाइ थियो।
कार्यक्रमका सहभागीहरुले बजारबाट किनेर स्यानिटरी प्याडको प्रयोग गर्ने गरेको र प्रयोग गरेको प्याड जलाउने गरेकोमा पुनः प्रयोग गर्न मिल्ने फ्रिडम किट व्याक पाएकोमा खुसी व्यक्त गरेका थिए।
कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजु रुचाल, कार्यपालिका सदस्य कृष्ण बि.क, वडा नं.२ का सदस्य सितादेवी बि.क. बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाह, महासचिव कल्पना अधिकारी, शिक्षा अधिकृत मिना घर्ती, लगायतको सहभागिता रहेको थियो।




