काठमाडौं। संघीय संसदको दुवै सदन – प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज मंगलबार पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि चल्नेछ।
यस्तै, राष्ट्रिय सभाको बैठकमा पनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। आजको कार्यसूची अनुसार छलफलपछि सांसदहरूले आफ्ना सुझावहरू दिने कार्य सम्पन्न गर्नेछन्।




