देश

घटालथान: सुदूरपश्चिमको धार्मिक शक्तिपीठ अब पर्यटकीय गन्तव्य

अमरगढी (डडेल्धुरा)। अमरगढी नगरपालिका–३ डोटी घटालमा अवस्थित सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। विगतको तुलनामा यहाँ अवलोकन तथा पूजाआजा गर्नेहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।

बूढीघटालको नामले पनि चिनिने ‘घटालथान’ पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रूपमा विकास भइरहेको छ। यसलाई यस क्षेत्रको प्रमुख धार्मिक स्थल मानिन्छ। घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराका अनुसार पछिल्लो समय ‘घटालथान’ को अवलोकन गर्ने पर्यटकहरूको संख्या बढ्दै गएको छ।

अहिले घटालथानमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थीहरू शैक्षिक अवलोकनका साथै वनभोजका लागि आउने गरेका छन्। विभिन्न जिल्ला र विदेशबाट समेत दैनिक दुई सयको हाराहारीमा पर्यटकहरू यहाँ आउने गरेको उनले जानकारी दिए। विशेषगरी मंगलबार र शनिबार घटालथानमा पूजाआजा गर्नेहरूको ठूलो भीड लाग्ने गरेको उनको भनाइ छ।

सदरमुकाम बागबजारबाट पश्चिम–दक्षिणतर्फ पाँच किलोमिटरको दूरीमा घटालथान अवस्थित छ। जिल्ला सदरमुकामबाट यहाँ पुग्न गाडीमा १५–२० मिनेट र पैदल एक घण्टा लाग्छ। यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार–आइतबजार–घटाल मन्दिर हो। यसबाहेक चिमिरिकोट–वीरखम्ब–टुँडा–चम्साल हुँदै पनि यहाँ पुग्न सकिन्छ। “डोटी खोलाको बीचमा घटाल बाबाको मूर्ति अवस्थित हुनुका साथै ऐतिहासिक ढुङ्गे नौला र ऐतिहासिक हिङ्लो पिङ पनि रहेकाले घटाल पुग्नेहरूले पिङको आनन्द लिन सक्छन्,” बोहराले भने।

घटालको महिमा

यहाँको मान्यता अनुसार यदि कसैले देउताको प्रभाव र शक्तिलाई चुनौती दिएमा मूल धामीले आफूले बालुवा खाने र अन्य धामीहरूलाई पनि बालुवा खुवाएर शक्ति प्रदर्शन गर्छन्। स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरि बालुवा लिएर खाने गरेको विश्वास गर्छन्। घटाल क्षेत्र विकास समाजका अध्यक्ष बोहराका अनुसार पहिले धामीहरूले ६० घडा बालुवा र ६० घडा पानी खाने गरेको किंवदन्ती छ, तर अहिले पनि धामीले सात–आठ मुठी जति बालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीय रूपमा प्रचलित छ।

मुखभरिको बालुवा पानीसँगै निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूको दाबी छ। आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि चढाउँछन्। किंवदन्ती अनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएकी थिइन्, तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि घटाल बाबाको स्थापना भएको जनविश्वास रहेको बोहराले जानकारी दिए।

पश्चिमी क्षेत्रका आस्तिकहरूमा घटाल बाबाले मनोकामना पूरा गरिदिने विश्वास रहेको पाइन्छ। खडेरी परेको वर्ष स्थानीयवासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *