भेरीगङ्गा (सुर्खेत)। कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक दिन किताबविहीन शिक्षा’ विद्यार्थीलाई दिने योजना ल्याएको थियो। सोही योजनाअनुसार सुर्खेतका नौ वटा विद्यालयमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागू गरिएको हो।
विद्यालयहरूमा साताको एक दिन विद्यार्थीहरूलाई विभिन्न सीपमूलक ज्ञान प्रदान गरिन्छ। यसबाट विद्यार्थीहरूमा व्यावहारिक ज्ञानको विकास भएको कर्णाली प्रदेश सरकारले जनाएको छ। परीक्षणका रूपमा सुर्खेतको वीरेन्द्रनगरका अमरज्योति मावि, जन मावि, भैरव मावि र जनसेवा मावि घुस्रामा एक दिन किताबविहीन शिक्षाको थालनी गरिएको छ।
भेरीगङ्गा नगरपालिकाको शारदा मावि, लेकवेशकी नगरपालिका जीवनज्योति मावि दशरथपुर, पञ्चपुरी नगरपालिका विद्याज्योति मावि र बराहाताल गाउँपालिकाको जनज्योति माविमा पनि जीवनोपयोगी शिक्षा सुरु गरिएको कर्णाली प्रदेश सरकार, शिक्षा विकास निर्देशनालय निर्देशक दीपा हमालले जानकारी दिइन्।
अपाङ्गता भएका व्यक्तिलाई पनि जीवनोपयोगी शिक्षामा समावेश गर्न कर्णालीको एकमात्रै विद्यालय सिद्ध बहिरा मावि वीरेन्द्रनगरमा यो कार्यक्रम लागू गरिएको उनले बताइन्। विद्यार्थीहरूलाई हप्ताको एक दिन जीवन सिकाइ अन्तर्गत कृषि, प्रविधि, वाइरिङ, पलम्बिक, कुकिङ र सिलाइबुनाई जस्ता सीपहरू सिकाइने गरिएको हमालले जानकारी दिइन्।
हमालले भनिन्, “अहिले यो कार्यक्रम पाइलट परियोजनाका रूपमा नौ वटा विद्यालयमा सुरु गरेका छौँ। अबको शिक्षा व्यावहारिक हुनुपर्छ भनेर कार्यक्रम सुरु गरिएको हो र यो प्रभावकारी बन्दै गएको छ।”
अबको युगमा विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक ज्ञानको बढी आवश्यकता रहेको बताउँदै सरकारले सुरु गरेको जीवनोपयोगी शिक्षालाई प्रदेशभर विस्तार गर्ने योजना रहेको उनले उल्लेख गरिन्। उनका अनुसार प्रदेश सरकारले यो कार्यक्रमका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।




