मुस्ताङ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायमा ‘थच्याङ’ एक विशिष्ट मौलिक संस्कृति हो। यो कुनै पर्व नभई व्यक्तिको उमेर हद पार भयो भन्ने सन्देश दिने परम्परा हो। ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष उमेर पुगेपछि व्यक्तिले स्वेच्छिक रूपमा थच्याङ गर्दछन्।
‘थच्याङ’ को शाब्दिक अर्थ सामाजिक बन्धनबाट मुक्त हुनु हो। यो हिमाली भेगका ताङ्वे गुरुङ समुदायको सदियौँदेखि चलिआएको पुरानो सांस्कृतिक प्रचलन मानिन्छ।
मुस्ताङमा अझै पनि मुखिया प्रथा कायम छ। मुखियाको नेतृत्वमा नै हरेक सामाजिक कार्य सम्पन्न हुन्छन्। गाउँ समाजको बैठक, भेला, खेतीपातीको कामदेखि गाउँमा हरेक सूचना प्रवाह गर्ने कटुवाल (छो) लगायतका कार्य समाजमा बस्नेहरूले आलोपालो गर्नुपर्ने हुन्छ। समाजले तोकेको जिम्मेवारी पूरा नगरेमा वा कुनै कार्यमा अनुपस्थित भएमा जरिवाना तिर्नुपर्ने हुन्छ।
समाजले तोकेका यस्ता जिम्मेवारीबाट छुटकारा पाउन ताङ्वे समुदायका गुरुङले ५७ वर्ष पुगेपछि थच्याङ गर्ने प्रचलन अझै जीवन्त रहेको ताङ्वे समाजकी अगुवा सङ्गीता ताङ्वे गुरुङले जानकारी दिइन्।
“हाम्रो समाजमा ५७ वर्ष नपुगी थच्याङ गर्न पाइँदैन। थच्याङ गरेपछि सामाजिक कार्यबाट मुक्त भयो भन्ने सन्देशसहितको यो संस्कृति हो,” गीता ताङ्वे गुरुङले भनिन्, “गाउँलेले बोलाएको र तोकेको जिम्मेवारीबाट थच्याङ गर्ने व्यक्ति मुक्त हुन्छ। यद्यपि स्वेच्छिक रूपमा काम गर्ने व्यक्तिलाई थच्याङले बाधा पुर्याउँदैन।” उनका अनुसार ताङ्वे समाजमा ५७ वर्ष पुगेको उत्सव थच्याङ सबैका लागि अनिवार्य हुँदैन।
यो समुदायमा सक्नेले थच्याङ गर्छन्, नसक्नेलाई गर्नैपर्छ भन्ने बाध्यता नहुने ताङ्वे समाजकी अगुवा सङ्गीताले बताइन्। उनका अनुसार थच्याङ व्यक्ति र परिवारसँग जोडिएको एक पृथक संस्कृति हो।
पहिलापहिला बिहेबारी धुमधामले गर्न नसकेकाहरूले जीवनको उत्तराद्र्धमा थच्याङ संस्कृतिमार्फत उत्सवका रूपमा मनाउने परम्परा रहेको सङ्गीताले जानकारी दिइन्। “यो प्रचलन ताङ्वे गुरुङ समुदायमा मात्र सीमित छैन। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका १९ वटै गाउँका गुरुङ समुदायले स्वेच्छिक रूपमा ५७ वर्ष कटेपछि थच्याङ पर्व मनाउने प्रचलन छ,” उनले भनिन्।
यो संस्कृति गर्दा कुलदेवताको पूजा गर्ने चलन छ। थच्याङ दुई दिनसम्म चल्छ। यस अवधिमा हिमालको कुलदेवतादेखि समुद्रभित्रसम्म सांस्कृतिक प्रचलनअनुसार गीत गाउँदै बिदा मागिन्छ। संसारिक दुनियाँको प्राणी जगत्, वनस्पति लगायतबाट छुटकारा पाउने संस्कृति प्रचलन थच्याङ हो। थच्याङ गर्ने व्यक्ति र परिवारलाई गाउँ समाजले ठेकीमा छ्याङ (रक्सी) र खादा लगेर पहिलो आर्शीवाद दिने चलन छ।
त्यसपछि ताङ्वे समुदाय र अन्य साथीभाइ इष्टमित्रहरूले खादा लगाइदिएर आर्शीवाद दिने प्रचलन रहेको सङ्गीताले बताइन्। “आर्शीवाद दिँदा पुरुष व्यक्ति ९९ वर्ष र महिला व्यक्ति ८९ वर्ष बाँचोस् भन्ने कामना गरिन्छ। ताङ्वे समाजमा बिहेबारी गर्दा पुरुषभन्दा महिलाको उमेर १० वर्ष कम हुनुपर्छ भन्ने सांस्कृतिक मान्यता छ,” उनले भनिन्।
थच्याङको दोस्रो तथा अन्तिम दिन समापन हुँदा ५७ वर्ष पुगेका व्यक्ति र उनका परिवारलाई घोडामा चढाएर गाउँ परिक्रमा गराइन्छ। घोडामा चढाउँदै समाज र सबैसामु सामाजिक कामबाट मुक्त भएको सन्देश दिने थच्याङ संस्कृतिको मुख्य विशेषता रहेको उनले बताइन्।
यसैबीच, सोमबार मुस्ताङको जोमसोममा थच्याङ संस्कृति झल्किने गरी परिक्रमा गरिएको छ। समाजका ५७ वर्ष कटेका व्यक्तिको बिदाइमा कुलदेवतालाई सम्झँदै ‘जीवनको गतिशील कर्मबाट मुक्त भयो’ भन्दै ताङ्वे सांस्कृतिक गुरुङ भाषामा गीत गाउँदै पुरुष र महिलाले गाउँ परिक्रमा गराएका हुन्।
ताङ्वे समुदायले थच्याङ गर्दा स्वदेश तथा विदेशमा बस्ने सबै समुदायका मानिस एक ठाउँमा भेला हुने भएकाले यसले छरिएर रहेका समुदायलाई एकापसमा जोड्ने पुलको काम गरिरहेको स्थानीय देवसिंह ताङ्वेले जानकारी दिए। उनका अनुसार यो संस्कृतिमा समुदायका महिला तथा पुरुष स्थानीय मौलिक वेशभूषा र गरगहना लगाएर चिटिक्क सजिसजाउ हुने गर्दछन्। नाचगान गरेर आपसमा रमाइलो गरी यसलाई उत्सवका रूपमा मनाउने प्रचलन रहेको उनको भनाइ छ।




